लयमा फर्कियो कोहलपुर, युवा संघ र अनेरास्ववियूद्वारा सडक सरसफाई



दिपेन्द्र हमाल,

बाँके। आईतबार तनावग्रस्त बनेको बाँकेको कोहलपुर बिस्तारै लयमा फर्किएको छ। स्कुले छात्रालाई ट्रकले किचेपछि एकाएक तनावग्रस्त भएको कोहलपुर सोमबार बिहानदेखि शान्त बनेको छ।

कोहलपुरमा आइतबार भएको आन्दोलनका कारण बजार एरिया र सडक अस्तव्यस्त भएपछि राष्ट्रिय युवा संघ र अनेरास्ववियु विद्यार्थी संगठनका नेता कार्यकताहरूले सरसफाइ गरेका छन्।

सोमबार बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आएका छन भने बजारमा चहलपहल बढेको छ। स्थानियहरु आफ्नो दैनिक गतिविधिमा फर्किएका छन्।

कोहलपुरको शुरक्षा ब्यवस्था भने कडा पारीएको छ। आईतबार दिनको ३ बजेदेखी जारी गरीएको निशेधाज्ञा भने अद्यपी जारी छ। आईतबार दिनको ३ बजेदेखी कोहलपुरमा कर्फ्यु लगाईएको भनिए पनि पछि निशेधाज्ञा मात्र जारी गरिएको प्रहरीले जनाएको छ।

बाँकेका प्रहरी प्रमुख बिरबहादुर वलीले दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने तयारी भएको संचार माध्यमलाई जानकारी गराएका थिए। तर, अन्त्यमा निशेषाधा जारी थियो।

यसैबिच बाँकेका समपूर्ण राजनितिक दलहरुले आफ्ना कार्यकर्तालाई संयमित रहन अपिल गरेका छन्। आईतबार बसेको सवैपक्षिय बैठकले कोहलपुर घटनालाई वार्ताको माध्यमबाट समाधान खोज्ने निर्णय समेत गरेको हो।

आईतबार विद्यालयतर्फ जार्दै गरेकी प्रकृति चन्दलाई ट्रकले किचेको थियो। कोहलपुर वडा नं १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो। घटनामा चन्दको दुबै खुट्टा पुर्ण रुपमा पिल्सीएका छन्।

सामुदायिक तथा संस्थागत विद्यालय बन्द

यसैबिच सोमबार कोहलपुरका सम्पूर्ण सामुदायीक र संस्थागत विद्यालयहरु बन्द गरीएका छन्। आईतबारको घटनालाई मध्यनजर गर्दै सोमबार सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको क्रिशा बाँकेका अध्यक्ष शिव प्रसाद डाँगीले जानकारी दिए।

क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत र नेपाल प्याब्सनका कोहलपुर अध्यक्ष बेग प्रकाश चन्दको संयुक्त हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तीमा सोमबार शैक्षिक संस्था बन्द गर्ने उल्लेख गरीएको छ।