कोहलपुर प्रहरीको दमनमा पत्रकार हमाल घाइते


काठमाडौँ। कोहलपुर बाँके प्रहरी प्रशासनको दमनकारी लाठी चार्जमा पत्रकार दिपेन्द्र हमाल घाइते भएका छन्। कर्णाली सन्देशका फोटो पत्रकार हमाललाई प्रहरीले जानकानी लाठी चार्ज गरेको पाइएको छ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्।

उक्त घटनापछि तनावग्रस्त बनेको कोहलपुर आन्दोलन क्षेत्रमा पुगेर रिपोर्टीङ गरिरहेका पत्रकार हमालले पत्रकार भएको जानकारी दिँदादिँदै पनि प्रहरीले आफूमाथि लाठी बजारेको बताएका छन्। पत्रकार हमालको खुट्टा र ढाडमा चोट लोगेको छ।

त्यस्तै प्रहरी र विद्यार्थीबीच झडप हुँदा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाही सहित ९ प्रहरी र केही विद्यार्थी घाइते भएका छन्। घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कोहलपुर दिनभर तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अहिले कफ्र्यू जारी गरेको छ। कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, उत्तरमा चिसापानी, पश्चिममा किरननाला र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाइएको हो। अहिले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट राजधानीको लागि छुट्ने बसहरू अलपत्र परेका छन्।