काठमाडौँ। बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते बनेपछि स्थानीय तोडफोडमा उत्रेका छन्। साथै अहिले कोहलपुरको स्थिति तनावग्रस्त रहेको हाम्रा फोटो पत्रकार दिपेन्द्र हमालले जानकारी दिएका छन्।
आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्दको घाइते बनेकी छन्। उनले दुबै खुट्टा गुमाएकी छन्।
स्कुले बालिका घाइते बनेपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन्। स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ।आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ।
दर्जनौं गाडीहरु बीच सडकमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ। यद्यपि अहिले प्रहरीहरु सडकमा देखिँदैनन्। सडकमा विद्यार्थी र स्थानीयवासी मात्र छन्। प्रहरीले सडक खुलाउने प्रयास नगरेको भन्दै अलपत्र परेका यात्रुहरु निराश छन्।
प्रहरी नै विद्यार्थी र स्थानीयवासीको घेराबन्दीमा परेको छ। प्रहरीमाथि उनीहरूले ढुंगामुढा गरिरहेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी विद्यार्थी नियन्त्रणमा लिएको छ भने केही सेल अँश्रु ग्याँस प्रहार गरेको छ।