अनेमसंघ क्रान्तिकारीको रौतहट दोस्रो जिल्ला भेला सम्पन्न



रौतहट। अखिल नेपाल महिला संघ क्रान्तिकारी, जिल्ला कमिटी रौतहटको हालै दोस्रो जिल्ला भेला सम्पन्न भएको छ। उक्त भेलाले विनिता परियारको अध्यक्षमा ११ सदस्यीय कमिटी गठन गरेको छ।

रौतहट जिल्ला सेक्रेटरी सिसम शाहीको प्रमुख आतिथ्यता एवं उक्त संगठनकी नारायणी ब्युरो संयोजक रेखा मगरको विशिष्ठ आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो।

दोस्रो भेलालाई सम्बोधन गर्दै सिसम शाहीले वर्गीय मुक्ति नभएर महिलाका हक अधिकार सुरक्षित नहुने बताइन। उनले भनिन्,‘महिलाका हक अधिकारलाई सुरक्षित गर्नको लागि एकीकृत जनक्रान्ति आवश्यक छ। यस क्रान्तिमा होमिन सम्पूर्ण महिला दिदीबहिनीलाई आग्रह गर्दछु।’

उनले अगाडि भनिन्, ‘दोस्रो दर्जाको नागरिकबाट माथि उठ्नका लागि हामीले निरन्तर संघर्ष गर्नुपरेको छ। असमानता र अराजकताको अवस्थाको मुल कारण संसदीय दलाल पूँजीवादी व्यवस्था हो। यसको अन्त्यका लागि एकीकृति जनक्रान्ति अपरिहार्य छ।’

त्यस्तै विशिष्ठ अतिथि रेखा मगरले महिला मुक्तिका लागि एकतावद्ध भएर एक पटक संगठित हुनुपर्ने धारणा राखेकी छन्। उनले भनिन्, ‘२१औं शताब्दीका हामी महिला आजको दिनमा पनि कुकुरा भएर बसिरहेका छौं। हाम्रो नजरमा कति नै दुनियाँ पर्छ? कति दिनसम्म हामीले कुकुरा भएर आँगन खोर्सिनु पर्ने हो ? त्यही भएर एक पटक महिलाले आकाशमा उड्ने चिल बन्नुपर्छ। आकासबाट जमिन नियाल्नुपर्छ।’

उनले अगाडि भनिन्, ‘राष्ट्रियता, जनतन्त्र, जनजीविका र महिला मुक्तिका निम्ति अनेमसंघ क्रान्तिकारी निरन्तर संघर्षको मैदानमा छ। महिलाहरूले पनि यो देशमा ठूल-ठूला इतिहास रचेका छन्। परिवर्तनका लागि आफ्नो जीवन बलिदान दिएका छन्। तर, हामी सोचेको र देखेको सपना पूरा भएन। त्यसैले फेरि पनि एक पटक अधिकारको लागि उठ्नुपर्ने, जुट्नुपर्ने अवस्था आएको छ।’