म्यूजिक खबरको आठौं म्यूजिक अवार्ड सम्पन्न



काठमाडौँ। म्यूजिक खबरको आठौं म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ। आठौं प्रभु पे म्युजिक खबर म्युजिक अवार्डमा प्रसिद्ध गीतकार किरण खरेललाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो। गीतकार खरेललाई २५५५५ नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको आयोजकले जानकारी दिएको छ।

त्यस्तै दशकको स्रष्टा सम्मानबाट लोकप्रिय संगीतकार आलोक श्री र लोकप्रिय गायिका सिन्धु मल्ललाई सम्मान गरिएको थियो। युवा प्रतिभा सम्मानबाट गायक नवीन पौडेललाई सम्मान गरिएको थियो।

बाल प्रतिभा प्रोत्साहन सम्मानबाट गायिका क्रिस्टिना श्रेष्ठलाई सम्मान गरियो भने वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई म्यूजिक खबर संगीत पत्रकारिता सम्मान प्रदान गरियो।

त्यस्तै मोफसलबाट क्रियाशील रहेका रंगपत्रकार मणिराज गौतमलाई ‘म्यूजिक खबर मोफसल संगीत पत्रकारिता पुरस्कार’ प्रदान गरियो थियो।

अवार्डमा आधुनिक विधातर्फबाट गायिका मिना निरौला र गायक प्रमोद खरेल उत्कृष्ट गायक गायिका बन्न सफल भए भने लोकदोहोरी तर्फबाट गायक कुलेन्द्र विक र गायिका लक्ष्मी मल्ल उत्कृष्ट गायक गायिका बन्न सफल भए।

शुभकामना मिडिया सोलुशनको आयोजना र म्यूजिक खबरको प्रस्तुतिमा सम्पन्न भएको उक्त अवार्डलाई ‘प्रभु पे’ले मुख्य प्रायोजन गरेको थियो।