‘नागरिकको सहभागितामा मात्रै राज्य समुन्नत बन्छ’



काठमाडौँ। राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढङ्गेलले समाज, व्यक्ति वा कुनै पनि क्षेत्रमा पर्ने असहजतामा साथ दिन युवाहरूलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय स्वयं सेवक दिवसका अवसरमा भिएसओ नेपाल, रेष्टलेस डिभेलेलपमेन्ट, उर्जा, एक्सनएड नेपाल र नाफानसँगको सहकार्यमा युथ एड्भोकेशी नेपालले आयोजना गरेको ‘स्वयं सेवकका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढुङ्गेलले यस्तो आग्रह गरेका हुन्।

युथ एड्भोकेशी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष ढुङ्गेलले भने, ‘सरकार वा राज्यको सक्रियतामा मात्रै समाजलाई गतिशिल, प्रगतिशिल बनाउन सकिँदैन। सम्पूर्ण नागरिकले आफ्नो ठाउँबाट सक्दो प्रयासले समाज समुन्नत बन्छ।’

सिङ्गापुरका नागरिकले एक सय घण्टा स्वयं सेवकीय भूमिका पूरा गरेपछि मात्रै राज्यका महत्वपूर्ण सेवा सुबिधा पाउने गरेको जानकारी दिदै उपाध्यक्ष ढुङ्गेलले भने,‘समाजको सेवा गर्नु वा स्वयं सेवक बन्नु चानचुने कुरा होइन। यो सम्मानित र मर्यादित क्षेत्रको कुरा हो। जीवनका गोरेटाहरूमा सिके भोगेका कुरालाई समाजमा लैजाने प्रमुख माध्यायम स्वयं सेवक नै हो। सीप हस्तान्त्रण गर्ने र नयाँ ज्ञान सिक्ने अवसर पनि हो।’

उनले अगाडि भने, ‘अबको केही समयमै युवा परिषदले युवालाई सम्बोधन गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्दैछ। जस्तो कृषी उत्पादनमा युवा, उद्यम प्रवद्र्धनमा युवा, वातावरण संरक्षणमा युवा, सुशासनमा युवा कार्यक्रम छन्।’

त्यस्तै उनले पराम्परागत सिप संरक्षणमा युवा, समाजिक विभेद विरूद्धमा युवा, समाजिक सुरक्षामा युवा, स्वास्थ्य क्षेत्रमा युवा, पर्यटन प्रवद्र्धनमा युवा, विज्ञान प्रविधिमा युवा, विपत व्यवस्थापनामा युवालगायत कार्यक्रममा सहभागि हुन आग्रह गरे।

कार्यक्रममा सहभागिहरूले स्वयं सेवक बन्दाका अनुभवहरू साटेका थिए। उक्त कार्यक्रममा विभिन्न संस्थामा आवद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।