‘राष्ट्रिय जिम्मेवारीलाई ख्याल गर्दै प्रधामन्त्री ओलीले राजीनामा दिनुपर्छ’



काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।

नेता घिमिरेले अहिले देशलाई १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री चाहिएको भन्दै राष्ट्रिय जिम्मेवारीबाट हात झिक्न प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन्। राष्ट्रको पुरा ध्यान प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा केन्द्रित भएको र देश अनिर्णयको बन्दी बनेको नेता घिमिरेको भनाई छ।

नेता घिमिरेले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ज्यू, तपाईं चाँडै स्वस्थ हुनोस्, हाम्रो कामना छ। तपाईं त भौतिकवादी, त्यसैले ईश्वरको अस्तित्वलाई स्विकार गर्नु हुन्न। तर हामी बिश्वास गर्छौं। त्यसैले उनै परब्रह्म परमेश्वरको अनुकम्पा र मेडिकल साइन्सको अथक प्रयासले तपाईंको स्वास्थ्य ठिकठाक होस र तपाईले भनेजस्तै आउने १५ बर्षसम्म राजनीतिक अखडामा जम्नोस्। तर आफ्नो स्वास्थ्य र प्रधानमन्त्रीको गहन राष्ट्रिय जिम्मेवारीलाई ख्याल गर्दै हाललाई पदबाट राजिनामा दिनोस्।’

उनले अगाडि लेखेका छन्, ‘अहिले देशलाई १८ घण्टा काम गर्न सक्ने प्रधानमन्त्री चाहिएको छ। तर दुखको कुरा यतिबेला राष्ट्रको पुरा ध्यान तपाईंको स्वास्थ्यमा केन्द्रित छ र देश नैं अनिर्णयको बन्दी जस्तो भएको छ। सिमा अतिक्रमण जस्तो संवेदनशील र गम्भिर बिषय अलपत्र छ। यो परिस्थिति देश र जनताका निम्ति दुर्भाग्यपूर्ण हो। कम्तिमा ६ महिना स्वास्थ्य उपचारमा लगाएर पूर्ण स्वस्थ भई पुनः प्रधानमन्त्री हुन यो पाँच बर्षभित्र तपाँईलाई कसैले रोक्न सक्दैन। गम्भीररूपमा अस्वस्थ हुँदा हुँदै पदमा बसिरहने हठ देखाउनुभयो भने आउने पुस्ताले तपाँईलाई आफ्नो जीवनलाई उच्च जोखिममा राखेर पदमैं टाँसीईरहने नेताको रूपमा स्मरण गर्नेछ।’