निर्मला हत्या प्रकरण: भीआईपी जोगाउने र गरिब फसाउने खेल



 

महेन्द्रनगर। नेपाल प्रहरी र सत्तारुढ दलको एक समूहका केही व्यक्तिले निर्मला प्रकरणमा मानसिक रोगी दिलिपसिंह विष्टलाई कृत्रिम प्रमाणका आधारमा अभियोग चलाउने हल्ला फिंजाइरहेका बेला समाजका विभिन्न तप्कामा व्यापक हलचल भइरहेको छ। ठोस भोतिक प्रमाणविनै दिलिपमाथि अभियोग लगाइए फेरि एक पटक महेन्द्रनगर आन्दोलनग्रस्त हुने संकेतहरु पनि प्राप्त भएका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहरा, नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाल महिला संघका नेताहरुले राज्यले वास्तविक अपराधी बचाउन कृत्रिम रुपमा तयार गरिएका र बलात्कारपछिको हत्यामा ठोस भौतिक प्रमाण नमानिने प्रमाणका आधारमा दिलिपसिंह विष्टमाथि अभियोग चलाएमा बाध्य भएर सडक आन्दोलनमा उत्रनुपर्ने बताएका छन्।

पछिल्लो समय प्रहरी संगठनबाटै केही विवादास्पद व्यक्तिले तयार पारेका भिडियो र गत वर्ष नै सरकारी वकिलले प्रमाण बन्न नसक्ने भन्दै अस्वीकार गरेको भिडियो, निर्मलाकी आमा दुर्गादेवी पन्तको जाहेरी र एक प्रायोजित प्रत्यक्षदर्शीको अर्थहिन भनाईका आधारमा दिलिपमाथि अभियोग चलाउने कसरत भइरहेको जानकारी पाइएको छ। सादा पोशाकका प्रहरी अधिकारीहरु दिलिपलाई पक्राउ गरी अभियोग लगाएमा आन्दोलन हुने नहुने बुझिरहेका बेला नेपाली कांग्रेसका नेताहरुसमेत समाजका अगुवाले अन्यायपूर्ण तरिकाले गरिने कामको आन्दोलनबाटै प्रतिवाद गर्ने बताउन थालेका छन् ।

नेपाली कांंग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराले वास्तविक अपराधी बचाउन फेरि एक पटक दिलिपसिंह विष्टलाई बलीको बोका बनाउने प्रयास भइरहेको आफूले पनि सुनेपछि जिल्लाका प्रहरी प्रमुखलाई गलत कदम नउठाउन सचेत गराइसकेको बताए। ‘मैले एसपी सापलाई प्रष्ट रुपमा कानुनी राज्यको मजाक उडाउँदै तयार पारिएका कृत्रिम प्रमाणका आधारमा अभियोग नचलाउन सुझाव दिइसकेको छु’, उनले भने। बोहराले निर्मला प्रकरणमा दिलिप विष्टको संलग्नता रहेको ठोस भौतिक प्रमाण प्रहरीले खोज्न नसक्ने बताउँदै भने, ‘वास्तविक हत्यारातर्फ ध्यान नै नदिई एक मानसिक रोगीलाई फसाउने प्रपञ्च नेपाली कांग्रेसलाई सह्य नहुने बताए।’

बोहराले कानुनी शासनको दुरुपयोग गर्दै शक्ति र सञको आडमा वास्तविक अपराधी बचाएर समाजको अपराधिकरण गर्ने वातावरण तयार नपार्न आग्रह गर्दै नियोजित तरिकाले बनाइएका र प्रमाण नै नमानिने केही भिडियो र भनाईका आधारमा सिंगो कञ्चनपुरका जनतालाई उल्याउने कोसिस भए आफ्नो पार्टी मौन नरहने पनि बताए। उनले भने, ‘समयमैं सचेत हुनु राम्रो, पछि राजनीतिकरण नभन्नु होला भन्ने सन्देश सम्बन्धित अधिकारीहरुलाई दिइसकेको छु।’

नेपाली कांग्रेसको द्यिार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य कैलाश चन्दले दिलिपसिंहलाई फसाएर अपराधी चोख्याउने खेल जनताले बुझेको भन्दै कानुनी शासनको प्रत्याभूतिका लागि पनि आन्दोलन गर्नुपनै बताए। उनले भने, ‘शक्तिका आडमा अन्याय लाद्ने प्रयास असफल पार्न नेविसंघले सडक तताउने छ।’ उनले अपराधी पहिचान हुने सबै प्रमाण मेटाइसकेपछि अपराधी बचाउन मानसिक रुपमा असन्तुलित व्यक्तिलाई हावादारी प्रमाणका आधारमा अभियोग चलाउन खोजे परिणाम नराम्रो हुने चेतावनी दिए।

नेपाली कांग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष महेश चन्दले राज्यका जिम्मेवार अंगहरु बलात्कारपछि हत्याको अभियोग कोराकल्पना, फर्जी प्रमाण र जनताले विश्वास नै गर्न नसक्ने तरिकाले कुनै व्यक्तिको टाउकोमा थुपार्न खोजे आन्दोलनको विकल्प नै नरहने बताउँछन्। उनले भने, ‘खुल्लमखुल्ला कानुनी शासनको मजाक उडाइए मौन बसेर यो समाजलाई अपराधीको पोल्टामा हाल्न दिने कुरै हुँदैन।’

नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले दिलिपसिंह विष्टलाई फसाउन चलिरहेको खेल जनताले बुझेका हुनाले प्रहरी वा अन्य कुनै निकायले फेरि गल्ती गरे परिणाम भयावह हुनसक्ने बताउँछिन्। ‘आफ्नै घर आँगनमा भएको घटनामा दोषीहरु उम्काउन मुट्ठीभर मान्छेले खेलेको खेल जनताले स्वीकार्छन भन्ने भ्रम नपालेकै हितकर हुनेछ’, उनले भनिन्, ‘कदाचित अन्याय लाद्ने कोसिस भयो भने हामीले हातमा दही जमाएर बसेका छैनौं।’

अरु राजनीतिक दलहरुलाई पनि आग्रह

निर्मला प्रकरणमा अपराधीहरु बचाउने चलखलमा केही सीमित राजनीतिक व्यक्तिहरु संलग्न रहेका भए पनि निर्मलाका लागि न्यायको आन्दोलनमा सक्रिय व्यक्ति र पीडित परिवारले सबै राजनीतिक दललाई अन्यायविरुद्ध उत्रन आग्रह गरेका छन्।

निर्मलाका बुवा यज्ञराज पन्तले अपराधी बचाउने खेलमा सिंगो समाज नै अन्यायमा पर्न थालेपछि दलहरुले नै त्यसलाई रोक्नुपर्ने बताए । दिलिपसिंह विष्टका दाजु खडक विष्टले भने, ‘ठोस प्रमाण भए जोसुकै अपराधी भए पनि छोड्नु हुन्न तर ठूलाबडा बचाउन गरिबको छोरालाई फसाउने खेल विरुद्ध सबै राजनीतिक दलले बोल्नुपर्छ।’

नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले समाजलाई न्यायपूर्ण बनाउने दायित्व राजनीतिक दलको भएको बताउँदै भनिन्, ‘दिलिप नै अपराधी हो भने ठोस प्रमाण देखाउनु पर्यो, केही बिकेका व्यक्तिको भनाई प्रमाण ठान्ने मुर्खता नगरियोस।’ अधिकारकर्मी शारदा चन्दलेभनिन् , ‘खुल्लमखुल्ला अन्याय हुँदा राजनीतिक दलहरुले नै हो त्यसलाई रोक्ने, हामी केही व्यक्तिले न्यायको आन्दोलनको आगो जतन गरेर मात्रै बस्न सक्छौं, यो समाजमा नियोजित ढंगले थोपरिन लागेको अन्याय रोक्ने शक्ति हामीसँग छैन।’ उनले दिलिपविरुद्ध ठोस प्रमाण छ भन्ने साहस गर्न नसकेर केही व्यक्तिको प्रपञ्चमा राज्यसंयन्त्रको दुरुपयोग गर्दै अपराधी बचाउन मानसिक रोगीलाई बली चढाउने कोसिस भइरहेको बताइन्।

समाजसेवी मदन चन्दले फेरि अर्को अन्याय हुन लागेको हल्लाले आफूलाई विचलित पारेको बताए। उनले प्रमाण नै नमानिने कृत्रिम तथ्य पेश गरेर मानसिक रोगीलाई फसाउन खोजिए विरोध हुने बताए। उनले भने, ‘त्यस्तो आपराधिक कार्यको विरोधमा सबै उत्रनुपर्छ, कुनै दलले आन्दोलन गरे राजनीतिकरण भन्नु हाँस्यास्पद मानिने छ।’

सम्पादकीय टिप्पणी स् व्यापक चर्चासँगै आक्रोश पनि बढ्दै

सुनियोजित रुपमा प्रहरी संगठनका केही जिम्मेवार अधिकारीले दिलिपसिंहलाई फेरि पक्राउ गरिने प्रचारबाजी गरेपछि दिलिपको सम्भावित अभियोग अहिले स्थानीय रुपमा व्यापक चर्चाको विषय बनेको छ। चिया पसल र अन्य सार्वजनिकस्थलमा चर्चा बढेसँगै जनमानसमा प्रहरीले लाद्न खोजेको अन्यायप्रति पनि आक्रोश बढ्न थालेको छ।

विभिन्न प्रभाव र प्रलोभनमा पारी आन्दोलनकारीहरुको एउटा सानो हिस्सा आफ्नो पक्षमा ल्याउन सफल भएपछि जेसुकै गरे पनि हुन्छ भन्ने सोचअनुरुप ठोस भौतिक प्रमाणविना दिलिपमाथि अभियोग लगाउने कसरत चलिरहेका बेला नेपाली कांग्रेस त्यो कसरतको विपक्षमा उत्रिने भएपछि कदाचित प्रहरीका केही अधिकारीहरुले मुट्ठीभर राजनीतिक व्यक्तिको स्वार्थसिद्धिमा सिंगो संगठन परिचालन गरे भने अवस्था भयावह हुने प्रष्ट संकेत देखिएको छ। नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुले अन्याय लाद्ने दुष्प्रयासको विरोधमा उत्रिएपछि लाखौं जनता आन्दोलनमा उत्रने वातावरण बनेको छ।

सबै राजनीतिक दलले अन्याय लाद्ने कुचेष्टाको खुलेर विरोध गर्नुपर्छ। नेपाली कांग्रेसले त्यसको सुरुआत गरेको छ, सबैले आभार प्रकट गर्नुपर्छ। निर्लज्ज तरिकाले कानुनी शासनको धज्जी उडाउन दुष्प्रयास गर्ने तत्वविरुद्ध आफू बोल्न नसक्ने अरुले बोले राजनीतकरण भन्ने परिपाटीको अन्त्य कञ्चनपुरबाटै हुनुपर्छ।

दिलिपसिंह विष्ट नै दोषी हो र अहिलेसम्म कञ्चनपुरसहित विश्वभरका जनतालाई भ्रममा राखिएको भने दिलिप विष्टविरुद्ध भौतिक प्रमाण (फिजिकल एभिडेन्स) पेश गर्याे यो भने नेपाल प्रहरी सलामयोग्य हुनेछ र जनतालाई भ्रममा राख्ने सबैले सजायको हकदार हुनुपर्नेछ। तर, प्रमाण ऐन र फौजदारी सिद्धान्तले बलात्कारपछि हत्याको घटनामा नस्वीकार्ने कुरालाई प्रमाणका रुपमा पेश गर्दै राज्यलाई नै ध्वस्त गर्न हिंडेकाहरु अबको आन्दोलन पछि समाप्त हुनेछन्, यदी जनताले दिलिपविरुद्धको अभियोगमा पेश गर्ने प्रमाण अपत्यारिला भए भने।

निर्मला प्रकरण अपराधी बचाउन मुट्ठीभर व्यक्तिले राज्यशक्ति कै दुरुपयोग गर्न सकेको पहिलो घटना हो। विधिविज्ञानमा महत्वपूर्ण मानिएका ३ दर्जनभन्दा बढी प्रमाण सुरक्षित राख्न ध्यान नदिने प्रहरी अधिकारीहरुले उन्मुक्ति पाउनका लागि राज्यरचित षड्यन्त्र भइसकेको छ निर्मला प्रकरण। राज्यका हरेक क्रिया जनताले पत्याउने फ्रेममा अटाउनुपर्छ अन्यथा जनताले सब ठीक पारिदिन्छन्। गलत तत्व, मान्यता र कामले कहिल्यै जनताको विश्वास जित्न सक्दैन। जनताको विश्वास जित्न नसक्ने टिक्न सक्दैन।

रमेश लेखक आश्चर्यमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्र रमेश लेखकले दिलिपसिंह विष्टलाई नै फेरि अभियुक्त बनाउने प्रपञ्चप्रति आश्चर्य व्यक्त गरेका छन्। अनुभवी कानुन व्यवसायी समेत रहेका लेखकले भौतिक प्रमाणविना कुनैपनि व्यक्तिमाथि बलात्कारपछिको हत्या गरेको अभियोग चलाउन राज्यका अंगहरु तयार रछन्छन् भन्ने आफूलाई विश्वास नभएको बताए।

‘दिलिपसिंहलाई त पहिले नै अभियोग चलाउने प्रयास भएको हो’, लेखकले प्रश्न गरे, ‘अहिले विधिविज्ञानले निर्धारित गरेका फिजिकल एभिडेन्स पेशै नगरी अब कसरी फेरि दिलिपसिंहमाथि नै अभियोग लगाउन मिल्छ?’ उनले कानुनी शासनको बर्खिलाप हुने गरि उठाइने हरेक कदमको आफूले मात्रै नभई नेपाली कांग्रेसले समेत वार कि पारको लडाई लड्ने बताए।

लेखकले अधिकारीहरुले आफ्नो दायितव र अधिकारका सीमाप्रति सचेत रहेका हुनाले हावादारी प्रपञ्चमा राज्यलाई नै ध्वस्त बनाउने गरी काम नगर्ने विश्वाश व्यक्त गरे। उनले भने, ‘राज्यका जिम्मेवार अंग गैरजिम्मेवार हुन सक्दैनन्, कदाचित कुनै दवाव र प्रभावबाट अन्यायका पक्षमा सरकार देखियो भने हामी चुप लागेर बस्दैनौं।’

आइजी खनालको यूटर्नको रहस्य

निर्मला हत्याकाण्डपछि गत वर्ष भदौमा महेन्द्रनगरको ओपेरा होटलमा भाषण गरेर सुदूरपश्चिमेलीका लागि ‘हिरो’ बनेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै योजनामा ठोस भौतिक प्रमाणविना दिलिपसिंह विष्टलाई अभियोग लगाउने प्रपञ्च भइरहेको खुलेको छ।

जिल्लाका प्रहरी अधिकारीलाई उधृत गर्दै एक राजनीतक दलका नेताले भने, ‘एसपी दिनेश आचार्यलाई आइजीपीले सोझै दिलिपमाथि अभियोग लगाउन दवाव दिइरहेका छन्।’

खनाल आगामी माघमा सेवानिवृत्त हुँदैछन्। निर्मला प्रकरणमा उनले सुरुआती दिनमा महत्वपूर्ण काम गरेका थिए। खनालले तत्कालिन डिआईजी धिरु बस्न्यातको प्रतिवेदनलाई संस्थागत गर्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्लाई वर्खास्त गराएका थिए। त्यति मात्र नभई विष्ट र भट्टसहित आठ प्रहरीविरुद्ध प्रमाण नष्ट र यातना दिएको मुद्दासमेत उनले अदालतसम्म पु¥याएका थिए।

तर, पछिल्लो समय आईजी खनाल नै प्रमाण नभए पनि दिलिपसिंह विष्टमाथि अभियोग चलाउने अभियानमा केन्द्रीत भएका छन्। उनी केही साता अगाडि धनगढी आएका थिए, उनका साथमा निलम्बित तथा अदालतमा दोहोरो मुद्दा खेपी रहेका सीआइबीका डिएसपी अंगुर जिसी पनि रहेको चर्चा चलिरहेको छ।

खनालविरुछ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक उजुरी परेका कारण उनले सम्झौता गरी दिलिपसिंहलाई नै कठघरामा पु¥याउने अभियानको साझो नेतृत्व गरिरहेको एक उच्च प्रहरी अधिकारीले बताए। ‘रिटायर भएपछि जेल जाने डर छ उहाँलाई’, ती अधिकारीले भने, ‘त्यसैले उहाँले यू टर्न लिनु भएको हो।’ सेवानिवृत्त भएपछि जेल जाने डरकै कारण आइजी खनालले आवश्यक र निर्धारित प्रमाणविनै दिलिपसिंहमाथि अभियोग चलाउने प्रत्यक्ष प्रयास गरिरहेको ती अधिकारीले बताए।

पूरै वडा महेन्द्रनगरको सडकमा उत्रिन्छः सन्तोषी

दिलिपसिंह विष्ट निवासी रहेको भीमदत्त नगरपालिका–१९ का एक जनप्रतिनिधिले कृत्रिम प्रमाणका आधारमा दिलिपसिंह विष्टमाथि हात मात्रै हालिए पनि आफ्नो वडाका सयौं व्यक्ति महेन्द्रनगर बजारका सडकमा उत्रने दावी गरेकी छन् । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य सन्तोषी ऐरले दिलिप विष्टलाई ‘मुर्गा’ बनाएर ठूलाबडा जोगाउने प्रयास सफल हुन नदिन सयौं वडावासीले महेन्द्रनगरमा आन्दोलन गर्ने बताएकी छन्।

उनले भनिन्, ‘दिलिपले निर्मलाको बलात्कार र हत्या गरेको हो भने ठोस प्रमाण जुटाउनु प¥यो, विना प्रमाण जोडजाम गरिएका केही भिडियो र केही बिक्री भएका व्यक्तिको जाहेरी र बयानका आधारमा दयनीय अवस्थामा रहेको मानसिक रोगीलाई फसाएर ठूलाबडा जोगाउन हामी दिंदैनौं।’

दुर्गादेवीको सुरक्षा चिन्ता

विकसित घटनाक्रमले निर्मलाकी आमा दुर्गादेवीको सुरक्षामा प्रहरी प्रशासन सचेत हुनुपर्ने देखिएको छ। दुर्गादेवी बस्ने वडा नं २ खोल्टी र आसपासका टोलमा उनीप्रति व्यापक आक्रोश देखिएको छ।

दर्जनौं व्यक्तिको डिएनए परीक्षण हुँदा र सयौंले प्रहरी शोधपुछको यातना बेहोर्दासम्म अपराधी ‘ठूलोमान्छे’ भन्दै आएकी दुर्गादेवीले नगरपालिकामा जागिर पाएपछि अचानक दिलिपसिंह विष्ट नै अपराधी भनेपछि सो क्षेत्रमा उनीप्रति व्यापक घृणा पैदा भएको छ। दिलिपमाथि अभियोग लगाएपछि आन्दोलन भड्किएमा दुर्गादेवीलाई सुरक्षित गर्नुर्ने अवस्था रहेको उनकै टोलका केही अगुवाले बताएका छन्।

साभार– दैनिक मानसखण्ड