‘उप-निर्वाचनबाट उत्साहित कांग्रेसले उचित समिक्षा गर्नुपर्छ’



काठमाडौँ। नेपाली कांग्रेस जुम्लाका युवा नेता एवं भ्रातृ संगठन प्रमुख लक्ष्मण शाहीले हालै सम्पन्न उपनिर्वाचनबाट कांग्रेसले आत्म आलोचनासहित गम्भीर समिक्षा गर्नुपर्ने सुझाव दिएका छन्।

कांग्रेसका युवा नेता गगन थापाको विचारलाई समर्थन गर्दै नेता शाहीले नेपाली कांग्रेसको नेतृत्व, कार्यकर्ता र जनताकाबीचमा हुने सबै क्रियाकलापमाथि निर्मम समिक्षा हुनुपर्नेमा जोड दिए।

बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका नेता शाहीले छन्, ‘सचेत नागरिकको नजरमा नेकाको मुल्यांकन कस्तो ? निर्मम समीक्षा यहीँबाट शुरु गरौं। पार्टीप्रति आम कार्यकर्ता र शुभेच्छुकको अपनत्व, महत्व र स्वामित्वको कमी देखिन्छ।’

नेता शाहीले अगाडि लेखेका छन्,‘सबै भ्रातृ संङ्गठन, शुभेच्छुक संघहरु लथालिङ्ग अबस्थामा छन्। यही स्थितिमा अर्को चुनावमा जादा परिणाम भयावह आउँने निश्चित देखिन्छ।’

नेता शाहीले नेपाली कांग्रेसभित्र चाकडी प्रथा मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो ध्यान पार्टी कब्जामा कि जनताको मन कब्जामा ? पार्टीमा चाकडी गरेर नेता रिझाउने अनि पद प्रतिष्ठा प्राप्त गरि जनतालाई बिझाउनेहरुको बाहुल्यता बढनुलाई स्वभाविक मान्न सकिन्न। यी तमाम अवस्था, परिणामको कारणहरु र समाधान समयमै नखोजे नेका दुर्घटनामा पर्ने निश्चित प्रायःछ।’

उनले नेपाली राजनीतिमा इमान्दारिता, त्याग, निष्ठा र क्षमताको आधारमाभन्दा पनि ढोगी राजनीतिको विकास भएको टिप्पणी गरेका छन्। खासगरी उनले कांग्रेस पार्टीमा सतही समिक्षाले नपुग्ने भन्दै आत्म आलोचनासहितको समिक्षा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

नेता शाही लेख्छन्, ‘गुलामहरूले त भविष्य देख्लान्। तर, असल शुभेच्छुकले कालो बादल भित्र चाँदीको घेरा देखिरहेका छन्। मतलव भविष्य त छ। तर, कालो बादल हटाउन अनवरत परिश्रमको जरूरत छ। लहडमा आत्मसमीक्षा होईन अब आत्मआलोचनासहितको समीक्षा गरेर अगाडि बढ्ने रणनीति तयारी गर्न बिलम्ब गर्नु हुदैन। उप निर्वाचनमा काङ्ग्रेसको जनमत सुधारिएको छ। तर, संन्तोष जनक छैन।’