‘यसै वर्षभित्र नरहरिनाथ गाउँपालिका सडक सञ्जालमा जोडिन्छ’



काठमाडौँ। जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले नरहरिनाथ गाउँपालिका यसै वर्षभित्र सडक सञ्जालमा जोडिने दाबी गरेका छन्।

गापा अध्यक्ष बिष्टका अनुसार खुलालु-लालु, माल्कोट-रुप्सा सडक खण्डको छिल्पे-हलेशेमा धमाधम काम भइरहेको छ।

गापा अध्यक्ष बिष्टको सक्रियतामा गत भदौ महिना नेपाली सेनासँग विस्फोटक पदार्थका बारेमा सम्झौता भएको थियो। साढे २ वर्षसम्म विस्फोटक पदार्थको सम्झौता नभएका कारण उक्त सडक खण्डको निर्माण कार्यले गतिलिन सकेको थिएन।

भदौमा सेनासँग सम्झौता भएपछि कात्तिकदेखि स्थानीय र सेनाले संयुक्त रुपमा चट्टान फोड्ने काम गरिरहेको अध्यक्ष बिष्टले जानकारी दिए।

उनले भने, ‘आगामी चैतसम्म गाउँपालिका सडक सञ्जालसँग जोडिने हाम्रो विश्वास छ। केही अवरोध भएन भने यस वर्षभित्र हामीले गापालाई कर्णाली करिडोरसँग जोड्नेछौं।’ आर्थीक वर्ष ०७६/०७७ को लागि गापाले सडक निर्माणमा पाँच करोड वजेट छुट्याएको छ। कर्णाली करिडोरको मुख्य स्थान मानिने खुलालुमा बन्ने पुलको पनि तीव्रत्तर काम भइरहेको छ।

त्यस्तै यसैवर्ष संविधान बमोजिम बन्ने १५ वेडको प्राथमिक स्वास्थ्य चौकी निमार्ण हुँदैछ। उक्त अस्पताल निमार्णको काममा यतिखेर गापा अध्यक्ष बिष्ट संघीय राजधानी काठमाडौँमा छन्।