खेलकुद (साग) को बजेटमा मन्त्रीहरूलाई दौरा-सुरुवाल



काठमाडौँ। नयाँ पत्रिका दैनिकमा खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल दिइएको खबरलाई प्रमुखताका साथ छापिएको छ। मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे। तर, आइतबार रंगशालामा उनी अचानक दौरा–सुरुवालमा प्रकट भए, यो दौरा–सुरुवाल दक्षिण एसियाली खेलकुद (साग) आयोजक समितिको तर्फबाट उनले निःशुल्क पाएका थिए।

गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन्। सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन्।

तर, दुर्भाग्य १ नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्र्याक–सुटमै हिँडाइएको थियो। खेलकुदको पैसा दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले भने दौरा–सुरुवाल अस्वीकार गरेका छन्।