छाउगोठबारे रेखाले भनिन्,‘हामी सभ्य हुन शताब्दी लाग्ने भयो’


काठमाडौ। नायिका रेखा थापाले २१औं शताब्दीमा पनि महिलाले छाउगोठमा ज्यान गुमाउनुलाई हृदय बिदारक मृत्युका रूपमा टिप्पणी गरेकी छन्।

सोमबार अछाममा एक महिलाको छाउपडी गोठमा ज्यान गएको विषयलाई लिएर नायिका थापाले नेपाली समाज सचेत बन्न शताब्दी लाग्ने बताएकी हुन्।

अछामको साफेबगर नगरपालिका ३ डिक्रेनी २१ वर्षीया पार्वती रावतको ज्यान गएको हो। घरभन्दा करिब १०० मिटर टाढा रहेको गोठमा ज्यान गएको इलाका प्रहरी कार्यालय साफेबगले जानकारी दिएको थियो।

नायिका थापाले उक्त बिषयलाई लिएर सामाजिक संजालमा लेखेकी छन्,’आज पनि छाउगोठ भित्र दिदी बहिनिको हृदय बिदारक मृत्‍यु भइरहेको छ।’

उनले अगाडि लेखेकी छन्, ‘कहिले बदलिन्छन यि अत्यास लाग्ने पिडाका कथाहरु? हरेक मृत्‍युले हामीलाई जिस्काइ रहेको जस्तो लाग्छ। हाम्रो लाचारिपना र हाम्रो गतिले देखाउछ कि हामी थोरै सभ्य हुन पनि शताब्दी लाग्ने भयो।’