क्रिकेटमा नेपालकी चेली अञ्जलीको विश्व किर्तिमान



काठमाडौ। १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ। मात्र १७ रनको लक्ष्य पक्ष्याएको नेपालले ५ बलमा पुरा गर्यो।

यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्यो। नेपालमा पुगेर एउटा अभ्यास खेल खेलेको माल्दिभ्सका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

माल्दिभ्स विरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन्। उनले माल्दिभ्स विरुद्ध एक रन पनि नदिदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन्।

उनले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन्। तेस्रो ओभरमा थप एक विकेट लिइन्। जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन्।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो। एलिसाले चीन विरुद्धको खेलमा चरा ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट लिएकी थिइन्। अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ। शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन्।