प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख र मुख्यमन्त्रीकै क्षेत्रमा कांग्रेस विजयी



काठमाडौँ। शनिबार सम्पन्न भएको उपनिर्वाचनको परिणाम धमाधम सार्वजनिक भइरहेको छ। नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको किल्ला मानिएको केही निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ। विजयी स्थानका आधारमा नेकपा अगाडि भए पनि कांग्रेसले राम्रो स्थान बनाएको छ।

यसअघि नेकपा एवं तत्कालीन बाम गठबन्धनले चुनाव जितेका ठाउँमा यस पटक कांग्रेसले शानदार कमब्याक गरेको छ। भरतपुर, दाङ र भक्तपुर चितवनमा यसअघि नेकपाका उम्मेदवार जनप्रतिनिधि निर्वाचित भएका थिए। निर्वाचन भएको स्थानमा कांग्रेसले नतिजा उल्ट्याएको छ।

भक्तपुर १ ‘ख’ मा यसअघि तत्कालीन एमालेका हरिशरण लामिछाने सांसद थिए। उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका कृष्णभक्त भँडेल विजयी भएका छन्।। भरतपुर १६ मा यसअघि तत्कालीन एमालेका चतुरमान गुरुङ वडाध्यक्ष थिए। अहिले त्यहाँ कांग्रेसका अमृतराज हमालले चुनाव जितेका छन्। दाङको घोराही उपमहानगरपालिका वडा नं १६ मा पनि कांग्रेसका ताराबहादुर डाँडी निर्वाचित भए।

भक्तपुर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो। यस्तै चितवनको भरतपुर १६ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो। यहाँबाट दाहाल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

यस्तै दाङको घोराही १६ पर्ने निर्वाचन क्षेत्रबाट प्रदेशसभामा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभामा निवर्तमान सभामुख कृष्णबहादुर महरा निर्वाचित भएका थिए। जहाँ यस उपनिर्वाचनमा कांग्रेसले बाजि मारेको छ।