दाङ। सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरु कृष्ण बहादुर महरा र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा कांग्रेस विजयी भएको छ। जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका हुन्।
शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन्। ३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन्।
गत निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए। बुढाको निधन भएपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए भने समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका छन्। ६८ मत बदर भएको छ।