भक्तपुरमा कांग्रेसको २ हजार ४७० मतको अग्रता


काठमाडौँ। भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यका लागि शनिवार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले अग्रता लिएको छ। चाँगुनारायण नगरपालिकाको नौवटै वडा र भक्तपुर नगरपालिका–१० समावेश यस क्षेत्रको मतगणनामा बिहान ६ बजेसम्म नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएको छ।

चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मतगणनामा भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकालले ५ हजार ६३१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिए।