बंगलादेशका राष्ट्रपति हमिद आज पोखरामा



काठमाडौँ। नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा जाँदैछन्। पोखरा रहँदा फेवातालमा डुंगा सयरदेखि रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गर्ने उनको कार्यक्रम छ। पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले स्वागत गर्नेछन्।

बिमानस्थलबाट हमिद फेवाताल पुग्ने छन्। उनको समयतालिका अनुसार ४० मिनेट फेवातालमा डुंगा सयर गर्ने कार्यक्रम छ। त्यसलगत्तै फेवाकिनारको फिस्टेल लजमा उनको आतिथ्यमा प्रदेश सरकारले दिवाभोजको व्यवस्थापन गरेको छ।

त्यसपश्चात्त हेलिकप्टरमा उनी रुपाकोट जाने कार्यक्रम छ। रूपाकोटमा गाउँपालिकाले त्यहाँस्थित सांस्कृतिक झाँकी सहित स्वागत गर्नेछ। स्वागत र सम्मानमा मारुनी र सोरठी नाच देखाउने तयारी छ। उनी आजै हेलिकोप्टरबाट काठमाडौं फर्कनेछन्। हमिदको भोलि चन्द्रागिरि जाने कार्यक्रम छ ।