प्रचण्ड र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ। राजधानीस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताए। उक्त अवसर राजनीतिमा नेताहरूले विरलै पाउने उनको भनाई थियो।

भेटमा बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुन्दर देशको सुन्दर दिमाग भएको सुन्दर नेता भन्दै उच्च प्रशंसा गरेका थिए।

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता व्यक्त गरेका छन्।

नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि राष्ट्रपति हमिद र अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो।