‘हिम्मत भए ओलीले कालापानीमा सेना तैनाथ गर्नुपर्छ’



काठमाडौँ। नेपाली कांग्रेस निटक नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले सीमा अतिक्रमण भएका सम्पूर्ण स्थानमा नेपाली सेना तैनाथ गर्न सरकारलाई चेतवनी दिएका छन्।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसलाई जिताउनको लागि सञ्चालन गरिएको ‘तरूण निर्वाचन यात्रा-२०७६’ का क्रममा दाङ पुगेका महासचिव शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अतिक्रमित सीमानामा नेपाली सेनालाई तैनाथ गर्न चेतावनी दिएका हुन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा महासचिव शाहीले भने,‘राष्ट्रवादी प्रधानमन्त्री ओलीसँग हिम्मत छ भने कालापानीमा नेपाली सेनालाई तैनाथ गनुहोस्। तरूणदलले साथ दिन्छ। होईन भने राष्ट्रवादको नारा लगाएर देशको सीमा सुरक्षा हुँदैन। प्रधानमन्त्रीले आजका दिनसम्म कुनै पनि भाषणामा भारतको विस्तारवादी चरित्रका बारेमा बोल्नु भएको छैन। खोक्रो राष्ट्रवादको कुनै अर्थ हुँदैन।’

साथै महासचिव शाहीले केही सयम पहिले सरकारले सार्वजनिक गरेको नेपालको संघीय नक्सा गलत भएको भन्दै तत्काल सच्याउन माग गरेका छन्। उनले भने, ‘राष्ट्रवादी सरकारको पालामा देशको सीमा मिचिएको छ। देशमा भ्रष्टचार व्याप्त छ। नातावाद कृपावादको चंगुलमा देशलाई फसाइ सकिएको छ।’

घोराही उपमहानगरपालिका वडा नम्बर १६ नेपाली कांग्रेस उम्मेदवार ताराबहादुर डागीलाई अग्रिम शुभकामना दिँदै स्थानीयलाई जनमत प्रदान गर्न आग्रह गरेका छन्।

कार्यक्रममा तरुणदल दाङ्का अध्यक्ष टीका जिएम, तरुण दल रोल्पा अध्यक्ष तिलक घर्ती, तररूणदल मुगुका अध्यक्ष रमेश मल्ल, तरूण दलका केन्द्रीय पार्सद गौरब लामालगाएले कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।