काठमाडौं। जिल्ला अदालत, ललितपुरले निदान अस्पतालमा अनाधिकृत रूपले मिर्गौला प्रत्यारोपण गराइएको घटनामा संलग्न भएका ५ जना थुनामा पठाउन आदेश दिएको छ।
मंगलबार अदालतले अस्पतालका कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरूलाई ललितपुरकै नख्खु कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरी २९ असोजमा प्रधानसहित लिगल अफिसर कुमुदकुमार भट्टराई, चिकित्सक डा.राजेश पन्त, जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला प्रत्यारोपण गरिएका रामेछापका शंकारलाल लामालाई सार्वजनिक गरेको थियो।
घटनाका मुख्य विचौलिया हालसम्म पक्राउ पर्न सकेका छैनन्। उनीहरू सबैमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम १० वर्ष कैद र दुई लाख रूपैयाँदेखि ५ लाख रूपयाँसम्म जरिवाना माग दाबीसहित अभियोग दर्ता गरिएको छ।