उत्तरी सीमा मिचेको विरोधमा चीनका राष्ट्रपति सिको पुत्ला दहन



काठमाडौँ। नेपालको भूमि अतिक्रमण गरेको भन्दै युवाहरूले चीनविरुद्ध पनि चर्को विरोध प्रदर्शन जारी राखेका छन्। भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिपुलेक लगायतका ठाउँ समेट्दै नेपाली भूमि मिचेको भन्दै विरोध भइरहेका बेला युवाहरुले अर्को छिमेकी मुलुक चीनलेसमेत नेपाली भूमि अतिक्रमण गरेको विरोधमा आन्दोलन चर्काएका हुन्।

सोमबार युवाहरूले सप्तरीको राजविराज, बर्दियाको गुलरियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा चीनविरुद्ध प्रदर्शन गरे। उनीहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन्।

नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोकलगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन्।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोकलगायतका सीमाक्षेत्रको भूमि मिचेको छ।

चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको छ। सरकारको एक अध्ययन प्रतिवेदन अनुसार चीनले नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भूभाग मिचेको हो। कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययनअनुसार उक्त नेपाली जमिन चीनले मिचेको हो। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ,’चीनले नेपाल-चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना अत्याधिक छ।

नेपाल चीन सीमानामा नेपाल तिर नदिको वहावले ठूला ठूला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सीमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ।

कुन जिल्लामा कति मिच्यो ?

चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ।चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ। चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन्।