काठमाडौँ। अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको भन्दै रुवावासी गरेका छन्।
नेपाल र अमेरिकाको संसदीय अभ्यासका बारेमा अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा नेपालका सांसदहरुले यस्तो बिलौना गरेका हुन्।
कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुको भनाइ थियो–हामी गरीव छौँ, हामीसँग आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा जान समेत पैसा हुँदैन। हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन। यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने ?’
त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएपछि संसदमा प्रश्न समेत गर्न नपाएको गुनासो गरेका थिए। सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र खर्चको पनि व्यवस्था हुँदैन। हामी जिल्ला जान नै सक्दैनौँ। बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर खबर सुनाइदिनुपर्यो।’
त्यस्तै अर्की सांसद माया ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘हामी दयनीय अवस्थामा छौँ, हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन। तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन। धेरै ठूलो समस्या छ।’ त्यस्तै अर्का सांसद बलराम बास्कोटाले दक्षिण एसियाली मुलुकका संसदहरुले भोग्ने अन्य समास्याबारे प्रकाश पारेका थिए।
नेपाली सांसदहरुको गुनासो सुनिसकेपछि एचडीपीका प्रतिनिधि बब गुर्लाटे, ब्राडस्मित र सुसन एटीसनले अमेरिकामा सांसदहरुलाई आवश्यक कर्मचारी र खर्चको व्यवस्था त्यहाँको संसदले गर्ने जानकारी गराए। प्रतिनिधि ब्राडस्मितले राष्ट्रपतिलाई समेत सिनेटले नै बजेट छुट्याएउने र त्यसरी छुट्याएको बजेट सिनेटले पास गरेर खर्च गर्ने गरिएको अनुभव सुनाए।
अमेरिकी प्रतिनिधिहरुलाई नेपाली सांसदले आफ्नो माथिल्लो निकायमा सिकायत गर्न गरेको आग्रहलाई आफै माग्न सुझाव दिए। ‘आफैले माग्नुभएन भने पाउनुहुन्न, त्यसैले आफै माग्नुस्,’ गुर्लाटेले भने। त्यस्तै उनीहरुले सांसदको महत्त्वपूर्ण काम भनेको नै निगरानी भएकाले त्यसतर्फ लाग्न सुझाव दिए।
‘श्रोतसाधन नभएपनि इच्छाशक्ति भए काम गर्न सक्नुहुन्छ। झोलाभरी पैसा भएपनि इच्छा भएन भने केही हुँदैन । त्यसैले निगरानीलाई जोड दिनुस्’ अमेरिकी प्रतिनिधिको सुझाव थियो। एचडिपी अमेरिकी संसदमा काम गर्ने पूर्व कर्मचारी र सांसदहरु सहभागी रहेको गैरसरकारी संस्था हो। यही संस्थाको आयोजनामा अमेरिकी संसद र नेपालको संसदीय अभ्यासबारे अन्तर्क्रिया भएको हो। यो समाचार रातोपाटीले प्रकाशित गरेको छ।