‘मेडिकल माफियाहरूलाई तत्काल गिरफ्तार गरियोस्’



काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले मेडिकल शिक्षालाई विकृत र भ्रष्ट बनाउनेहरूलाई तत्काल गिरफ्तार गर्न सरकारसँग माग गरेका छन्।

सत्तारूढ दल नेकपा(नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूका प्रभावशाली नेता तामाङले मंगलबार समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘मेडिकल माफियाहरूलाई तत्काल गिरफ्तार गरियोस् र पीडित विद्यार्थीलाई न्याय दिईयोस्।’

मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरू आन्दोलित बनेका थिए। चिकित्सा शिक्षा संघर्ष समितिले राजधानीमा समेत विरोध प्रशर्दन गरेको थियो।

गत शैक्षिक सत्रसम्म एमबीबीएस अध्ययनका लागि मेडिकल कलेजले उपत्काभित्र साढे ३८ लाख र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने निर्णय सरकारले गरेको थियो। तर, कलेज सञ्चालकहरूले सरकारी शुल्कबाहेक पनि जनही वार्षिक ४ लाख रुपैयाँसम्म बढी असुलेको आरोप विद्यार्थीको छ।

तर, चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७६-७७ देखि लागू हुने गरी उपत्यकाभित्र एकमुष्ट ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ लिन पाउने गरी एमबीबीएस अध्ययनको शुल्क बढाएको थियो।

यता विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई लिखित अनुरोध गरेको छ।

शिक्षा मन्त्रालयमा आइतबार बसेको विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीको बैठकले मेडिकल शिक्षामा देखिएको विकृति र आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्न गृहसँग सहयोग माग्ने निर्णय गरेको थियो।