मन्त्रिपरिषद् पुनर्गठन: वसन्त नेम्वाङलाई मन्त्री बनाउन ओली-प्रचण्ड सहमत



काठमाडौँ। सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएको आजको कान्तिपुर दैनिकमा समाचार छ। प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्। यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक बोलाएका छन्।

अन्नपूर्ण पोष्टदैनिकका अनुसार केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ‘चाँडै मन्त्रिपरिषद्मा हेरफेर हुँदैछ’, उच्च स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच पात्रका विषयमासमेत छलफल भएको छ।’ स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनको स्थानमा प्रभु शाहलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ।

सँगै महिला बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ। अन्य मन्त्रीका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ। त्यसैगरी तीन पटक संसदीय चुनाव जितेका वसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत भएको स्रोतले बताएको छ।