भारतलाई पछि हट्न सेनाको चेतावनी



काठमाडौँ। भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे नेपाली सेनाको जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिकवर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भू-भागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै भारतीय सेनालाई नेपाली भूमि छोड्नुपर्ने धारणा राखेका छन्। उनले अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कूटनीतिक एवं रणनीतिक तयारीमा पनि सेना अग्रसर भएको छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्ने विषयमा जंगीअड्डामा सुरक्षा प्रमुखबीच बहस भएको सैन्य उच्च स्रोतले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि जंगीअड्डा पुगेको बताइएको छ।

सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले सुरक्षा निकायको छलफल भएको स्वीकार गरे पनि त्यसलाई नियमति भने। ‘यो नियमित छलफल हो’, प्रवक्ता पाण्डेले भने, ‘उपनिर्वाचन, साग र समग्र सुरक्षा अवस्थाबारे नियमित ब्रिफिङ भएको हुनुपर्छ।’

सीमाबाट भारतीय फौज फिर्ता पठाउन लामो समयदेखि पहल भए पनि त्यसमा नेपालले सफलता पाउन सकेको छैन। ‘यही विषयमा नेपाली सुरक्षा निकायले आफ्नो रणनीति के बनाउने भन्दै छलफल अघि बढाएको हो’, सैन्य स्रोतले भन्यो, ‘सेनाका केही पृतनापति, रथीलगायतको उपस्थिति थियो।’

यो पनि पढ्नुहोस्

नेपाली सेना मलामी, सलामी र गुलामीका लागि हो ?