सिमा अतिक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको कांग्रेसका युवा नेताहरूको भनाई



काठमाडौँ। नेपाली कांग्रेसका युवा नेताहरूले भारतीय हस्तक्षेपका विरूद्धमा संयुक्त रूपमा वक्तव्य निकालेर विरोध गरेका छन्। शनिबार कांग्रेस केन्द्रीय सदस्यरू डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेलले वक्तव्य मार्फत भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

संयुक्त वक्तव्यको पूर्णपाठ

केही दिनअघि भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भुमि लिपुलेक र कालापानी समेतलाई भारतीय भूमिमा पारिएको घटनाप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ। सन् १८१६ मा नेपाल र अङ्ग्रेजशासित भारतबिच सम्पन्न सुगौली सन्धिले किटान गरेका महाकाली पूर्वका भूभागहरू नेपालका हुन भन्ने व्यहोराबाट ती सबै भूभागहरू नेपालका अविभाज्य अंग हुन भन्नेकुरा स्पष्ट हुन्छ। यस धरातलीय यथार्थलाई नजरअन्दाज गर्नु कसैको पनि हितमा हुदैन। नेपाली भूभाग मिच्ने अधिकार कसैलाई छैन।हाम्रा पूर्खाहरुले ज्यानको बाजी लगाएर ठूलो बलिदानको मूल्यमा कायम राखेको सिमा तलमाथि गर्न खोज्ने जो कसैलाई नेपाली जनताले माफ गर्न सक्तैनन। यस घटनाबाट अहिले ३ करोड नेपाली जनता स्तब्ध, दुःखी र आक्रोसित छन।

नेपाल सरकारले यस दु:खद घटनाका सन्दर्भमा भारत सरकारसँग स्पष्ट कुरा गर्नु पर्दछ। यस बिषयमा सरकारले बोलाएको सर्वदलीय बैठकलाई सकारात्मक सुरुवातका रूपमा लिदै पछिल्लो घटना लगायतका सिमा अतिक्रमणका अन्य स्थानहरूका बिषयमा समेत सार्थक, परिणाममूखी र दिगो समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण रहेको छ। शदियौ देखि एक आपसका घनिष्ठ छिमेकीको रूपमा रहेका भारत र चिन दुवै देशले आपसी सद्भाव, भाइचारा, बन्धुत्व र मैत्रिपूर्ण सम्बन्धको धरातलमा उभिएर अन्तर्राष्ट्रिय नियम, प्रचलन र मान्यतालाई ख्याल गरि छिमेकी राष्ट्रहरूसँग सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ भन्ने हाम्रो दृढ मान्यता छ। शक्ति,बल र अभिमान प्रदर्शन गरि साना राष्ट्रहरूलाई थिचोमिचो र दुर्ब्यबहार गर्न मानवता, दर्शन र हाम्रो सभ्यताले पनि हामी कसैलाई अनुमति दिदैनन भन्ने कुरा पनि स्मरण गराउन चाहन्छौं। जय नेपाल !

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू

डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना सेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल