अयोध्या विवादित जग्गा हिन्दुको पक्षमा फैसला, २४ घण्टाका लागि नाका बन्द



काठमाडौँ। भारतीय सर्वोच्च अदालते रामको जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा हिन्दुहरूको पक्षमा फैसला सुनाएको छ। मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउनुपर्ने फैसला पनि अदालतले सुनाएको छ।

विवादित जग्गा रामको मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो। शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सुनाएको हो।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे एक कार्ययोजना बनाउन निर्देशन दिएको छ। ट्रष्ट मार्फत् मन्दिर बनाउन अदालतले भनेको छ। भारतीय सर्वोच्च अदालतको यो फैसलालाई ऐतिहासिक मानिएको छ।

हिन्दु र मुस्लिम समुदायले अयोध्याको विवादित जग्गामा आ—आफ्नो दाबी गर्दै आएका थिए। शनिबार सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउनु अघिदेखि नै उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली र राजस्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

त्यहाँका स्कुल कलेजहरु तीन दिनसम्म बन्द गरिएको छ। साथै सीमा नाकासमेत २४ घण्टाका लागि बन्द गरिएको छ। अलिगढ भन्ने स्थानमा इन्टरनेट सेवासमेत बन्द गरिएको छ।