भारतलाई नेपालसँग निहू नखोज्न मन्त्री भट्टराईको चेतावनी



काठमाडौँ। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भारतलाई नेपालसँग बखेडा नझिक्न आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेशबुकमा उनले ऐतिहासिक तथ्य, प्रमाण र जीवित मान्छेहरूका अनुसार कालिपानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको बताउँदै भारतलाई पछि हट्न आग्रह गरेका छन्।

उनले लेखेका छन्,‘लिम्पीयाधुराबाट उत्त्पती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीबित मानिसहरुका भनाईबाट प्रस्ट छ। यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहू खोज्नुको कुनै तुक छैन। भारत पछी हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानुपन दिनु नै राम्रो हुन्छ। नेपालले छोड्ने कुरै आउँदैन। सिंगो नेपाल एक छ।’

भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमी समावेश गरेको विरोधमा देशभर आन्दोलन जारी छ। सरकारको तर्फबाट आधिरिक धारणाका रूपमा परराष्टको विज्ञप्ति बाहेक यसअघि कुनै मन्त्रीले बोलेका थिएनन्।