नेविसंघलाई भारतविरुद्ध आन्दोलन जारी राख्न सभापति देउवाको निर्देशन



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विरूद्धमा जारी आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन्।

भारतले लिपुलेक, लिम्पियाधुरा कालापानीसहित नेपाली भूरूभागलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेको विरोधमा भइरहेको आन्दोलन जारी राख्न सभापति देउवाले नेविसंघलाई निर्देशन दिएका हुन्। नेविसंघका नेता प्रकाश अर्यालका अनुसार शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएका हुन्।

पार्टीकाको तर्फाबाट भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न निर्देशन दिएको बुझिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराएका थिए।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि सावेश छ। साथै आजसम्मको अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ। सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले अलग-अलग प्रदर्शन गर्दै आएका छन्।

नेपाल सरकार र राजनीतिक दलका नेताहरूलेसमेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन्। तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ।