ठूलो दाइ बनेर भारतले नेपाललाई हेप्न पाइंदैन: नेता तामाङ (भिडियोसहित)



काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले भारतलाई ठूलोदाई बनेर नेपालाई नहेप्न आग्रह गरेका छन्। शुक्रबार अनेरास्ववियू केन्द्रीय कमिटीको आयोजनामा आयोजीत विरोध सभालाई सम्बोधन गर्दै नेता तामाङले भारतलाई नेपालमाथिको हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन्।

उनले सम्बोधनका क्रममा भनेका छन्, ‘नेपाल भूगोल र जनसंख्यामा सानो होला। भारत भूगोल, जनसंख्या र अर्थतन्त्रमा ठूलो होला। तर, भारत पनि एक देश हो। नेपाल पनि एक देश हो। त्यसैले भारतलाई भन्न चाहन्छु नेपाललाई भाई सम्झेर आफू ठूलोदाई बनेर हेप्न पाईंदैन। हेप्ने काम बन्द गर।’

भारतले आफ्नो विगत सम्झन आग्रह गर्दै नेता तामाङले भने,‘इतिहास साक्षी छ, भारत अंग्रेजको गुलामबाट मुक्त भएको धेरै भएको छैन्। भारतकै सामु हाम्रो देश कसैको गुलाम बनेन। हाम्रो वीरपुर्खाले मातृभूमिको रक्षा गर्यो। आज हामीले गर्छौं। हालै भारतले सार्वजनिक गरेको राजनीतिक नक्सा नेपाल सरकार र तातो, रातो रगत भएका हामी नेपालीलाई स्वीकार्य छैन्। हामीले भारतको नक्सा च्यातेका छौं। जलाएका छौं।’

नेता तामाङले भारतलाई नेपाललाई गिद्धे नजरले नहेर्न अपिल गरे। उनले भने, ‘सिक्किम दार्जलिङ र हालैको जम्मुकाश्मिरलाई जसरी नेपालको सिमाना मिच्ने कोसिस बन्द गर। तातो र रातो रगत मातृभूमि रक्षाको लागि समर्पण गर्न तयार छौं। नेपाल सरकारले भारतसँग कुटनीतिक तवरबाट सिमा विवादको हल गरोस्। भारतले के चाहन्छ ? त्यो हामीले जान्न पाउनुपर्छ। यदि भारतले मान्दैन भने सरकारले आदेश देओस् हामी सिमानामा उभिन तयार छौं। देशको लागि बलिदान दिन तयार छौं।’

उनले अगाडि भने,‘हाम्रो गुमेको भूमि फिर्ता गर्न विश्वविद्यालयका हजारौं विद्यार्थीहरू चन्द्र सुर्यअंकित झण्डा बोकेर सिमानामा जान्छौं। हाम्रो भूमि फिर्ता गर्छौं। सरकारले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतको प्रयोग गरोस्। हामी आन्दोलनका तवरबाट मिचिएको सम्पूर्ण भूमि फिर्ताका लागि संघर्ष गर्नेछौं।’

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालिकापानी, लिम्पयाधुरा र लिपुलेकको ३७२ वर्गकिलोमिटर भूमि सावेश गरेको विरोधमा देशभर भारतको विरूद्धमा आन्दोलन भइरहेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे