काठमाडौँ । भारतले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरेको भन्दै भारतको नयाँ नक्सा जलाइएको छ। नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै सत्तारूढ समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियनलगायतको संयुक्त विद्यार्थी आन्दोलनले शुक्रबार बिहान लैनचैरस्थित भारतीय राजदूतावासअघि विरोध प्रदशर्न गरेका छन्।
शुक्रबार अनेरास्ववियूले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। शुक्रबार बिहान नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए।
संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए। शुक्रबार बिहान नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको थियो।
विद्यार्थीहरूले ‘लिपलेक हाम्रो हो,भारतीय विस्तारवाद मुर्दावाद, अतिक्रमित नेपाली भूमि फिर्ता गर’ भन्दै नारा लगाएका थिए। यसअघि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताएको थियो। बिहीबार त्यसको जवाफ दिँदै भारतले नक्सामा भारतको सार्वभौम भू-भाग समेटिएको र नेपालको सीमा परिवर्तन नगरिकएको जिकिर गरेको छ।