कास्की । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्वर २ की उम्मेदवार विद्या भट्टराईले आज बिहीबारदेखि चुनावी अभियान सुरू गरेकी छन्। नेकपाका स्व.नेता रवीन्द्र अधिकारीको जन्मथलो भरतपोखरीबाट भट्टराईले चुनावी अभियान सुरू गरेको अनेरास्ववियूका नेता रश्मि आचार्यले जानकारी दिएका छन्।
नेता रश्मि आचार्यले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘रविन्द्र अधिकारीको जन्मस्थल भरतपोखरीबाट विद्या भट्टराई अधिकारी (नेकपा) उम्मेदवार, कास्की २ को निर्वाचनमा अभियान सुरू। ८७ बर्षीय पूर्ण कुमारी आचार्य र ८५ बर्षीय वैकुण्ठ नाथ आचार्यबाट आशिर्वाद ग्रहण।’
स्व. नेता अधिकारीकी पन्तिसमेत रहेकी भट्टराई पूर्व राजनीतिक कर्मी हुन्। यसअघि उनले काठमाडौंको आरआर क्याम्पसमा प्राध्यापन गरिरहेकी थिइन्। जिल्ला कमिटी कास्कीले भट्टराईको नाम सर्वसम्मत रूपमा केन्द्रलाई पठाए पनि प्रदेशले थप अरू दुईवटा नाम थपेर पठाएको थियो।
प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपाबाट भट्टराईसँगै कांग्रेसबाट खेमराज पौडल, यस्तै समाजवादी पार्टीले पूर्वगोर्खा सैनिक धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी र विवेकशीलले जमुना शर्मालाई मैदानमा उतारेको छ। त्यस्तै राप्रपाले पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। रवीन्द्र अधिकारीको गतवर्ष फागुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागको हो।