‘कालाकापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस्’



काठमाडौँ । लोकप्रिय नायिका एवं सामाजिक अभियन्ता रेखा थापाले नेपालको सिमाना मिचिएको बारेमा भारत सरकारसँग सार्थक पहल गर्न सरकारसँग माग गरेकी छन्। हिजोमात्रै भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेको थियो।

भारतीय पक्षले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकको जमिन समावेश छ। भारतीय हस्तक्षेपका विरूद्धमा र देशभित्रका नक्कली राष्ट्रवादीहरूलाई इंगित गर्दै नायिका थापाले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘आज देशको एक टुक्रा जमिन मात्र होईन, हजारौं हेक्टर जमिन गुमेको छ। सिमाना मिचिएका समाचार सुन्दा के गरौं र कसो गरौं हुन्छ। वीर पूर्खाहरूको विरासत सम्झिँदा आजको पुस्ता कायरझैं लाग्छ। जाई नलाग्ने, आईलागे बाँकी नराख्ने वीरहरूका हामी सन्तानहरू देशको सिमाना फेरिदाँसम्म पनि कुम्भकर्णको निद्रामै छौं। सुस्ता, कालाकापानी, लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस्। नक्कली राष्ट्रवाद अति भयो।’

कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो।

सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रूपमा निर्विवाद थियो । वि।सं। २०१८ मा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्ब्याङ र नाभी गाउँमा नेपालले जनगणना गराएको थियो । नेपाल सरकारका तत्कालीन जोनल अफिसर भैरव रिसालले सो क्षेत्रको जनगणना गराएका थिए।

तर, सन् १८६० मा चीनसँग युद्धको दौरानमा भारत काली तरेर नेपाली भूमि अतिक्रमण गर्दै अघि बढ्यो। अतिक्रमण गर्दै भारतीयहरू लिपुलेक आए र त्यहीँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फी रूपमा घोषणा गरे। यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर क्षेत्र भारतले कब्जा मात्र गरेन, नेपाली भूमि कालापानीमा भारतीय फौज बंकरसहित तैनाथ गरियो।

भारतीय फौज सो क्षेत्रमा अहिले पनि परेड खेलिरहेको छ। कालापानीमा भारतको इन्डो–तिबेतियन बोर्डर पुलिस तैनाथ गरेपछि पनि भारत थामिएन। त्यसपछि थप ६२ वर्गकिलोमिटर पूर्व आइसकेको छ। यसरी सो क्षेत्रमा मात्रै भारतले ३७२ वर्गकिलोमिटर जमिन मिचिसकेको छ।