५० अण्डा खाने २ हजारकाे बाजीले ज्यान गयो



काठमाडाैं। कहिलेकाहीं साथीसाथीबीच रमाइलो गर्न बाजी राख्ने चलन पुरानै हो। यस्ता बाजीमा खानेकुरा खाने बाजी समेत पर्ने गर्छ । तर, नहुँदो काममा अनावश्यक हठ गर्दा कहिलेकाहीं स्वास्थ्यलाई हानी मात्र गर्दैन ज्यान जाने समेत गर्छ।

यस्तै घटना भारतमा भएको छ। भारतको उत्तर प्रदेशमा ५० वटा अण्डा खाने बाजी लगाएर ४२ औं अण्डा खाँदाखाँदै एक व्यक्तिको मृत्यु भएको छ। भारतीय प्रहरीले जनाए अनुसार सोमबार उत्तर प्रदेशको जाउनपुर जिल्लामा यसरी बाजी राख्दा ४२ वर्षीय सुवास यादवको मृत्यु भएको हो।

प्रहरीका अनुसार यादव र उनका साथीहरुबीच विवाद भइरहेको बेलामा बिबिगन्ज मार्केटमा अण्डा खाने बाजी राखिएको थियो। यादवले सोही क्रममा आफूलाई २ हजार भारु दिएमा ५० वटा अण्डा खाने बाजी राखेका थिए।

साथीहरुले उसिनेको ५० वटा अण्डा ल्याएर यादवलाई खान दिएका थिए। ४१ वटासम्म अण्डा उनले राम्रैसँग खाएका थिए। तर, ४२ औं अण्डा उनको मुखमा परेपछि उनी बेहोस भएका थिए।

उनलाई तत्कालै नजिकको क्लिनिकमा लगिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई सञ्जय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो। यादवको होस आएन र उनको केही घण्टामा नै मृत्यु भएको थियो।

चिकित्सकले धेरै अण्डा खाएर यादवको मृत्यु भएको जनाएका छन् । सो घटनाको बारेमा परिवारका सदस्यले भने केही पनि बताएनन् । ५० वटा अण्डाको तौल करिब ६ पाउण्ड हुने र त्यो पेटलाई चाहिने औसत भन्दा निकै धेरै हुने जनाइएको छ।

गार्जियनका अनुसार सन् २०१३ मा लण्डनमा एउटा अण्डा खाने प्रतिस्पर्धामा भाग लिँदा शारोन डिक्सन नामकी एक महिलाको मृत्यु भएको थियो। उनको उपचारको क्रममा दुई दिनपछि अस्पतालमा मृत्यु भएको जनाइएको छ।

त्यसैगरी सन् २०१२ मा धाओ फ्यान्टासी नामका व्यक्तिको अण्डा खाने म्याराथनका क्रममा मृत्यु भएको अष्ट्रेलियाको न्यूज डट कम एयुले जनाएको छ। उनले साथीहरुको चुनौतिका कारण २८ वटा काँचो अण्डा खाएकोमा पेट दुखेर अस्पताल लग्दा उनको मृत्यु भएको थियो। खानेकुरा खासगरी अण्डाको प्रसंगमा हुने प्रतिस्पर्धामा मानिसको मृत्यु हुने गरेको छ । एजेन्सी -न्यूज विक