सिमाना मिचिएको विरूद्धमा अनेरास्ववियू आन्दोलित



काठमाडौँ। लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा पारेको विरोधमा अनेरास्ववियूले देशभर प्रदर्शन गर्ने भएकाे छ।

संगठनका अध्यक्ष ऐन महरले सामाजिक सञ्जाल फेशबुक मार्फत इन्डियालाई पछि हट्नसमेत चेतावनी दिएका छन्। संयोजक महरले लेखेका छन्, ‘लिपुलेक कालापानी हाम्रो होज् ! आज ३ बजे आरआर क्याम्पसबाट अनेरास्ववियूद्धारा आयोजना गरिने विरोध र्यालीमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। साथै देशब्यापी रुपमा सबै जिल्लामा आजै विरोध प्रदर्शन गर्न सम्पुर्ण अनेरास्ववियूका मातहत कमिटी र नेता कार्यकर्ता साथीहरूलाई अनुरोध गर्दछु।’

कालापानी र सुस्ताको सीमा–विवाद मिलाउन गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको हो।

सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । र, कालीनदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रूपमा निर्विवाद थियो । वि.सं. २०१८ मा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्ब्याङ र नाभी गाउँमा नेपालले जनगणना गराएको थियो । नेपाल सरकारका तत्कालीन जोनल अफिसर भैरव रिसाल (वरिष्ठ पत्रकार)ले सो क्षेत्रको जनगणना गराएका थिए ।

तर, सन् १८६० मा चीनसँग युद्धको दौरानमा भारत काली तरेर नेपाली भूमि अतिक्रमण गर्दै अघि बढ्यो । अतिक्रमण गर्दै भारतीयहरू लिपुलेक आए र त्यहीँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फी रूपमा घोषणा गरे । यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्गकिलोमिटर क्षेत्र भारतले कब्जा मात्र गरेन, नेपाली भूमि कालापानीमा भारतीय फौज बंकरसहित तैनाथ गरियो ।

भारतीय फौज सो क्षेत्रमा अहिले पनि परेड खेलिरहेको छ । कालापानीमा भारतको इन्डो–तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) तैनाथ गरेपछि पनि भारत थामिएन । त्यसपछि थप ६२ वर्गकिलोमिटर पूर्व आइसकेको छ । यसरी सो क्षेत्रमा मात्रै भारतले ३७२ वर्गकिलोमिटर जमिन मिचिसकेको छ ।