प्रकाश चन्दको नेतृत्वमा राजधानी केन्द्रित आन्दोलन सुरू



काठमाडौँ। चिकित्सा शिक्षा संघर्ष समितिले राजधानी केन्द्रित आन्दोलन सुरू गरेको छ। मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग गर्दै निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरूले आज राजधानीको माइतीघर मण्डलमा एक घन्टा विरोध प्रर्दशन गरेका छन्।

करिब तीन सय विद्यार्थीले आजदेखि माइतीघर मण्डलामा आन्दोलन सुरू गरेका हुन्। आन्दोलनरत विद्यार्थीहरूले ‘मेडिकल माफिया मुर्दावाद’, ‘अतिरिक्त शुल्क फिर्ता गर’ लगायतका नारा लगाएका थिए।

चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, भैरहवा र नेसनल मेडिकल कलेज, वीरगन्जमा अध्ययनरत् विद्यार्थी आन्दोलनको कार्यक्रम लिएर मंगलबार बिहान राजधानी आइपुगेका हुन्। काठमाडौं आइपुगेलगत्तै उनीहरूले आन्दोलन थालेका छन्।

सरकारले उपत्यका बाहिर गरिएको संघर्ष र आन्दोलनका कार्यक्रमहरुप्रति खासै चासो नदेखाएको आन्दोलनरत विद्यार्थीहरूको आरोप छ। संघर्ष समितिका संयोजक प्रकाश चन्द ठकुरीका अनुसार भोलि (बुधबार) गन्डकी मेडिकल कलेजका विद्यार्थी पनि थपिने र आन्दोलन तीन दिनसम्म जारी रहने छ।