बाँके। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार उदार भएकै कारण प्रदेश प्रमुखले दुई वर्षसम्म काम गर्न पाएको टिप्पणी गरेका छन्। कांग्रेसले प्रदेश फेरबदलको विषयलाई लिएर आलोचना गरिरहेको विषयलाई लिएर प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।
उनले प्रदेश प्रमुखहरू परिवर्तन हुनुलाई स्वाभाविक भनेका छन्। साथै नयाँ प्रदेश प्रमुखहरूको नियुक्तिका विषयमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले फरक मत नराखेको जिकिर गरेका छन्।
मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकार परिवर्तन भइसकेपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुने सामान्य प्रचलन रहेको बताए।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको छ। नवनियुक्त प्रदेश प्रमुखहरुले आजै बिहान शपथ खाएका छन्।