भारतको मुम्बईमा बिग परवेश रेकर्डिङ स्टुडियोको शाखा विस्तार



काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौँमा रहेको बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोको शाखा भारतको मुम्बईमा विस्तार गरिएको छ। स्टुडियो प्रवन्धक एवं गायक, सर्जक, एरेञ्जको परिचय बनाएर भुवन प्रकाश बडुको नेतृत्वमा उक्त स्टुडियो मुम्बईमा हालै सञ्चालनमा ल्याइएको हो।

बडुले कर्णाली सन्देशसँगको कुराकानीमा भने,‘विगत लामो समयदेखि गीतसङ्गीतमा अनवरत रूपमा काम गर्दै आँए। अझै भन्नुपर्दा मध्य तथा सुदूरपश्चिमका मौलिक लोक भाका संस्कृतिलाई गीतसङ्गीतका मार्फत विश्वभरी चिनाउने प्रयासरत छु।’

उनले भने, ‘अहिलेसम्म हजारौं देउडागीतहरू एरेन्ज तथा स्वर दिइयो होला। लयवद्द गरियो होला। म आधुनिक क्लासिक गीत गायक भएकाले नेपाली गीत सङ्गीतलाई आफ्नो कर्म सम्झेर अहिलेसम्म फिल्मी गीत, आधुनिक गीत,लोक गीत,पप गीत, लोकदोहोरी,देउडा गीत, सेलो गीत, टप्पा गीत, राना थारु गीत, पुर्बेली गीत र काठ क्षेत्रका थुप्रै गीत म्युजिक एरेन्ज र स्वर सङ्गीतको कार्य गरेको अनुभव छ।’

तपाईं यस क्षेत्रमा लाग्नु भएको हो नि भनेर सोधिएको प्रश्नको जवाफमा गायक बडुले भने,‘म २०५० सालदेखिको निरन्तर यात्रा जारी छ। आजको दिनसम्म आईपुग्दा भुप्रै अनुभव बटुल्ने अवसर प्राप्त भयो। पछिल्लो समयमा आफ्नै रेकर्डिङ स्टुडियो स्थापना गरे बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियो (काठमाडौ अनामनगरमा)। आफू आधुनिक गायक भएता पनि आफू जन्मेको ठाउँमा गाइने देउडा गीतलाई विशेष प्राथमिकता दिँदै आफ्नै एकल प्रयासमा १३२ कलाकार भन्दा बढी संख्यामा रहेको ऐतिहासिक देउडा गीत न्याउल्याको रेकर्डसमेत गरे।’

राज्य पक्षबाट कुनै सपोर्ट पाउन नसकिएको दुःखेसो पोस्दै सर्जक बडुले भने, ‘राज्यले मलाई केही नगरेपछि देशमा रहेका र नेपाल बाहिर बस्नु भएका प्रवासी कलाकारलाई सहजता रहोस् भनी हामीले बिग परिवेश रेकर्डिङ स्टुडियो नेपालको साखा भारतको मुम्बई स्थित गोरेगाउा मोतिलाल नगर नम्बर १ मा पनि विस्तार गरेका छौं। नेपाली कला र कलाकारहरूको सहजताका लागि हामीले यो प्रयास गरेका हौं। नेपालका लागि ९८५१२१९०१४ र भारतका लागि ७०४५५०४६२१ मा हामीलाई सम्झिन सक्नुहुनेछ।’ उक्त स्टुडियोमा कार्यक्रमको अवसरमा मुम्बई पुगेकी लोकप्रिय गायिका टिका पुनलगायतका कलाकारहरू गीतमा आवाज भरिसकेका छन्।