‘नेविसंघमाथि पार्टीको नाजायज हस्तक्षेप बन्द गरिनुपर्छ’



ई. भुवन भट्ट,

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ अटल गरिमा, आदर्श र सिद्धान्तसहित गर्भिलो ईतिहास बोकेको विद्यार्थी संगठन आज कठिन परिस्थितिबाट गुज्रिनु परेको छ।

समग्रमा लोकतन्त्र, लोकतान्त्रिक पद्धती र लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालका लागि दुर्भाग्यको कुरा हो। पञ्चायतकालमा पार्टीका नेताहरू प्रतिबन्धित हुँदा र प्रवास जीवन बिताउनु परेको बाध्यकारी अवस्थामा जनताको स्वतन्त्रता र प्रजातान्त्रिक प्रणाली स्थापित गराउँनका निम्ति बिगुल फुक्ने नविसंघ आज गुटगत र व्यक्तिगत स्वार्थको सिकार बनेको छ।

कुनै बेला पार्टीको संगठित शक्तिको स्रोतका रूपमा रहेको नेविसंघ प्रतिपक्ष शक्तिका रूपमा स्थापित थियो। नेविसंघ सत्ताको समान्तवाद बिरूद्धमा आन्दोलन गर्ने, राष्ट्रियर अन्तर्राष्ट्रिय मुद्धामा अडान राख्ने र जनमत निर्माण गर्ने जस्ता गतिविधिमा अग्रमोर्चामा रहने गर्दथ्यो।

तर, आज सामाजिक अन्यायका विरूद्ध, कम्युनिस्ट अधिनायकवाद, सर्बसत्तावादका विरुद्ध, भ्रष्टाचार, शैक्षिक कुरिति र माफियाका विरुद्ध बुलन्ध आवाज उठाउदै जनतालाई सामाजिक न्यायको अनुभूति दिलाउने जिम्मेवारिमा अग्रसर हुनुपर्ने नेविसंघ, मातृ पार्टीबाटै नर्सरीका रूपमा रहेको सँगठनलाई बन्धक बनाइनु, नित्तान्त विद्यार्थीबाट बञ्तित गराइनु र पार्टीका नेताहरूबाट नै संगठनलाई आफू अनुकुलको डम्फु बनाउन खोज्नु संघमाथिको कुठारा घात हो।

इतिहासका हरेक कालखण्डमा नेपाली कांग्रेसका नीति र सिद्धान्तलाई अंगिकार गरी प्रजातन्त्र स्थापित गर्नका निम्ति, सामाजिक न्याय र स्वतन्त्रताका निम्ति २०३६, २०४६ र ०६२ र ०६३ जनआन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरी लोकतान्त्रिक गणतन्त्र नेपालको यात्रमा सहयोगी बनेको संघ अबका दिनमा समाज र समयको गतिशिलताअनुसार यसको चरित्र र बेग बदल्नुपर्ने आवश्यकता रहेको छ। आज नेपाल विद्यार्थी संघ शैक्षिक एजेण्डामा मात्र सिमित छैन। पार्टी र गुटको अस्त्र बन्न अबिशप्त छ । संगठनमा व्यक्तिगत लाभ, स्वार्थ र गुटगत स्वार्थ हाबिहँुदै गएको छ। नीति, सिद्धान्त र विचार हराउँदै गएका छन्।

‘पार्टीको ठाडो हस्तक्षेप र उमेरको वहसमा रूमलिएको नेविसंघ हैन कम्युनिस्ट सर्वसत्तावाद, सामाजिक अन्याय र शैक्षिक मुद्धामा केन्द्रित हुन सक्ने सशक्त नेविसंघ आजको आवश्यकता हो।’

आजको नेबिसंघले विद्यार्थीका मुद्धामा विचार, विमर्श गर्दैन, बरु शैक्षिक संस्थाहरूमा लेनदेनको कारोबारमा अग्रसर देखिन्छ। आज नेविसंघ समग्र शैक्षिक, सामाजिक, वर्गीय आन्दोलनमा चुकेको आम विद्यार्थीले आभास गरिराखेका छन्। उपनिर्वाचन नजिकिँदै गर्दा प्रजातन्त्र, समाजवाद, राष्ट्रियता र विद्यार्थी एकता मुल आदर्श बोकेको नेविसंघलाई परिचालित गर्दै नेपाली काँग्रेसका उम्मेद्वारहरूलाई विजय गराउने माहोल निर्माण गर्ने,कम्युनिस्टहरूको अत्याचार र सर्वसत्तावाद विरूद्ध जनतामा सन्देश प्रवाह गर्नुपर्ने जिम्मेवारीमा अग्रसर गराइनुपर्ने नेविसंघ चरम गुटबन्दि र स्वार्थमा चलाउन खोज्नु आउँदो पुस्ताको सुनौलो भविष्यमाथिको खेलवाड र समग्र सँगठनप्रतिको अपमान हो।

देशमा कम्युनिस्ट सरकारले दुई तिहाईको दम्भमा बलत्कारी र हत्यारालाई संरक्षण गरिराखेको छ। जताततै भ्रस्टाचार र कुसाशन मौलाएको छ। कार्यपालिका र न्यापालिका माथि ठाडो हस्तक्षेप गरिँदैछ। प्रेस स्वतन्त्रता र नेपाली जनताको स्वतन्त्रतालाई कुण्ठित पार्ने खालका काम हुँदैछन्।

सरकार दुई तिहाईको दम्भमा सामाजिक फासिवाद तर्फ उन्मुख हुँदैछ। शैक्षिक माफियालाई प्रोत्साहान गरिराखेको छ। तर, अटल ईतिहास र अग्रजहरूको बलिदानिबाट स्थापित स्वाभिमानी संगठन नेविसंघ मातृ पार्टीबाटै निष्क्रिय पारिनु पार्टीकै लागि घातक हुन्छ। साथै यो भन्दा ठूलो दुर्भाग्य हामी नेविसंघका कर्मठ योद्धाहरुका लागि केही हुन सक्तैन।

हाम्रा अग्रजहरूको त्याग र सम्र्पणबाट स्थापित नेविसंघलाई अबका दिनका गतिशिल र सशक्त बनाउँदै समयानुकूल शैक्षिक विकासमा केन्द्रित गराउने जिम्मेवारी हाम्रो काँधमा रहेको छ। अबका दिनमा नेविसंघ नित्तान्त आउँदो पुस्ताका विद्यार्थीका समस्या र चुनौतिलाई सामनागर्दै लोकतन्त्रका आधार स्तम्भ बलियो बनाउन तर्फ केन्द्रित हुनुपर्दछ र पार्टीको नेविसंघमाथिको नाजायज हस्तक्षेप बन्ध गर्न विलम्ब गरिनुहुँदैन।

आज हाम्रा विश्वविद्यालण्य बेरोजगार जनशक्ति उत्पादन गर्ने फ्याक्ट्रिका रूपमा स्थापित रहेका छन्। यसकारण अबको नेविसंघ नित्तान्त विश्वविद्यालय सुधारमा केन्द्रित हुनुपर्दछ र हाम्रा विश्वविद्यार्थीबाट निस्केका जनशक्तिहरू बजारमा आफ्नो सिप, क्षमता र दक्षताले आत्मनिर्भर हुँदै समृद्ध नेपाल निर्माणका निम्ति योगदान गर्नसक्ने खालको वातावरण निर्माण हुनुपर्दछ।

समृद्ध नेपाल निर्माणका निम्ति समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पाठ्यक्रम परिमार्जन गर्दै विज्ञान र प्रविधिलाई जीवनका हरेक क्षेत्रमा पुगाउँनका लागि प्रविधिमैत्री शिक्षाको विकास नै अबको नेविसंघको मुख्य एजेन्डा हुनुपर्दछ। अबको नेविसंघ सामाजिक अन्यायका विरूद्ध, कम्युनिस्ट सरकारका गलत प्रवृत्ति, सर्वसत्तावादी चरित्र, जनताको स्वतन्त्रतामाथिको हस्तक्षेप, शैक्षिक कुरितिका विरूद्धमा आन्दोलनको उद्घोष गर्दै डटेर सामना गर्न सक्ने हुनुपर्दछ। त्यसका लागि पार्टीबाट हुने हस्तक्षेपको अन्त्य हुन जरूरी छ।

हस्तक्षेपरहित नेविसंघले समृद्ध राष्ट्रसँगै बलियो कांग्रेस निर्माणका निम्ति कल्याणकारी राज्य स्थापित गर्ने लक्ष्य तय गर्नुपर्दछ। संविधान निर्माण पश्चात लोकतन्त्र बलियो बनाउँनका निम्ति जनतालाई निःशुल्क शिक्षा र स्वास्थको अवसर राज्यद्वारा प्रदान गरिनुपछ। गरिब, निमुखा जनताका छोराछोरिको समेत ईन्जिनियरिङ, मेडिकललगायत प्राविधिक शिक्षामा सुलभ पहँुच स्थापित गराउने नेविसंघको कार्यदिशा हुनुपर्दछ। अन्यथा, हाम्रा अग्रजको त्याग, तपस्या र बलिदानमाथिको उचित सम्मान हुनसक्दैन र समृद्ध नेपाल निर्माणको यात्रा गन्तव्यमा पुग्न सक्दैन।

(लेखक नेपाल विद्यार्थी संघका नेता हुन्)