‘त्रिवि उपकुलपति प्रतिष्पर्धाको आधारमा नियुक्त गरिएन, यसमा मेरो आपत्ति छ’



काठमाडौँ। विभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले १९औं उपकुलपतिमा प्रा.डा.धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेपछि नेकपाकै भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सह—संयोजक रञ्जित तामाङले विरोघ जनाएका छन्।

अखिलका प्रभावशाली नेताको परिचयले चिनिने तामाङले विगत लामो समयदेखि त्रिविको अवस्थालाई सुधार गर्नको लागि प्रतिष्पर्धाको आधारमा कर्मचारी भर्ना गरिनुपर्ने माग राख्दै आएका छन्। नेता तामाङले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्राडा.धर्मकान्त बाँस्कोटा नियुक्त हुनु भएको छ। बधाई तथा सफलकार्यकालको शुभकामना छ। तर, उहाँ योग्य र सक्षम हुँदाहुँदै पनि नियुक्तिको सवधि गलत भयो। हामीले विगतदेख नै भन्दै आएका थियौं‘विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट होईन, खुला प्रतिष्पर्धाका आधारमा नियुक्त गरियोस।’

उनले अगाडि लेखेका छन्, ‘मेरो भनाईको तात्पर्य सक्षम र योग्य व्यक्ति खुला प्रतिष्पर्धाको विधि बसाल्दै नियुक्त गरिनु पर्दथ्यो। त्यो भएन, यसमा मेरो आपत्ति रहेको छ। केही विश्वविद्यालय सरकारले खुला आवेदन माग गरेको छ। त्यो सराहनिय कदम हो। तर, देशकै जेठो र ठूलो विश्वविद्यालयमा राजनीतिक नियुक्त गरेर बाँकीमा खुला आह्वान गरिनु जनआवाजका सामु झारो टार्ने मात्र काम भएको छ। हाम्रो विश्वविद्यालय, राम्रो विश्वविद्यालय। हाम्रो उपकुलपति सक्षम र योग्य उपकुलपति। हाम्रो चाहना।’

सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च समितिले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन्।

त्यस्तै समितिले एक नम्बरमा सिफारिस गरेका भगवान कोइरालालाई आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको छ। भदौ ६ गतेदेखि तत्कालीन उपकुलपति तीर्थ खनियाँको कार्यकाल सकिएको थियो। खनियाँलाई सुशील कोइराला प्रधानमन्त्री हुँदा उपकुलपति नियुक्त गरिएको थियो। बाँस्कोटा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट मानिन्छन्।