काठमाडौँ। नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले सुदूरपश्चिमको दार्चुलामा श्री महेन्द्र मोडलउच्च माध्यमिक विद्यालयकोे उद्घाटन गरेका छन्।
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको खलङ्गामा अवस्थित श्री महेन्द्र मोडलउच्च माध्यमिक विद्यालय सन् १९६० मा स्थापना भएको हो। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा विज्ञान, मानविकी तथा व्यवस्थापन संकायका उच्च माध्यमिक तहका कार्यक्रमहरु सञ्चालित छन्।
यस विद्यालयले सुलभ शुल्कमा प्राथमिकदेखि उच्च माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दछ। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार योग्य तथा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई यस विद्यालयले विविध छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
विद्यालयले खेलकुद, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, शैक्षिक परामर्श, मल्टिमेडिया, छात्रवृत्ति, शैक्षिक भ्रमण, कक्षा कोठा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दछ। यस विद्यालयमा २००० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन्।
भारत सरकारको ३ करोड नेपाली रूपैयाँ अनुदान सहयोगमा बनेको दई तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठासहित एउटा बैठक कक्षा, प्रत्येक तलामा छात्र-छात्राका लागि छुट्टै शौचालयको सुविधा एवं फर्निचरकोे पनि व्यवस्था रहेको छ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासलाई पूरा गर्ने सहयोगीको रूपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी रहेको राजदुत पुरीले जानकारी दिए।
उक्त उद्घाटन समारोहमा माननीय उप–प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, नेपाली कांग्रेसका नेता एवं दार्चुलाका सांसद दिलेन्द्र प्रसाद बडू, महाकाली नगरपालिकाका मेयर हंसराज भट्ट, दार्चुला जिल्ला समन्वय समितिका प्रमुख करवीर सिंह कार्की लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताको सहभागीता थियोे।