काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका आरआर क्याम्पसका सहसचिव इन्द्रहाङ राईलाई अनेरास्ववियूले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।
अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले एक विज्ञप्ति जारी गरेर संगठनका पूर्व केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिएका छन्।
अध्यक्ष महरले भनेका छन्,‘अपराधको कुनै पार्टी, जात धर्म हुँदैन ,अपराध भनेको अपराध नै हो। यसलाई अपराधको रूपमा नै बुझ्नु पर्दछ।अपराधी जो सुकै होस्। कानुनी कारबाहीको भागेदार बन्नुपर्छ। कारबाही र अनुसन्धानका लागि सहयोग गर्नु सबै जिम्मेवार संघ संस्था र नागरिकको परम कर्तव्य हो।’
गत मंगलबार बिहान ७ बजे बलात्कारको आरोपमा आरआर क्याम्पस स्ववियु सहसचिव इन्द्रहाङ राई पक्राउ परेका थिए। राईमाथि १८ वर्षीय युवतीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको आरोप छ। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले राईलाई दक्षिणढोका माकलबारीबाट मंगलबार बिहान साढे ७ बजे पक्राउ गरेको थियो।
देउसी खेल्न बोलाएर सोमबार बलात्कार गरेको १८ वर्षीया पीडित युवतीले मंगलबार बिहानै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । राईमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
विज्ञप्ति