काठमाडौँ। काँग्रेस पार्टी कार्यालय सानेपा सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि नेविसंघको एक समूहले विरोध गरेको छ।
उनीहरूले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए। प्रदर्शनको नेतृत्व नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले गरेका थिए।
बैठकमा सहभागी हुन नेताहरु आउने वित्तिकै उनीहरुले नाराबाजी गरेका थिए। नेविसंघको अवरोधमा सभापति देउवालगायतका नेताहरुलाई कार्यालय छिर्न सकस परेको थियो। उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा छलफल गर्न १ बजे बैठक बस्ने तयारी थियो।
पार्टी कार्यालयमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। कार्यकर्ताले नाराबाजी गर्दै घेराउ गरेपछि सभापति देउवा ‘यो के गरेको’ भन्दै जंगिएका थिए। उनले हप्काएपछि कार्यकर्ता आक्रोशित बनेका छन्। देउवालाई सुरक्षाकर्मीले घेरा हालेर कार्यालयभित्र प्रवेश गराएका थिए।