बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द



प्रतिक्षा योगी,

काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ का पुत्र प्रकाश चन्दले मेडिकल क्षेत्रमा देखिएको माफियाकरण अन्त्यका लागि आफू निरन्तर लड्ने बताएका छन्।

आफ्ना बुबा एवं पार्टीका महासचिव विप्लवसँग विगत दुईवर्षदेखि भेट नभएको स्पष्ट पारेका छन्। सरकारद्वारा प्रतिबन्धित पार्टीको सदस्य भएका कारण पक्राउ पर्ने डर भएको समेत उल्लेख गरेका छन्।

एक अनलाइनसँगको कुराकानिमा उनले भनेका छन्, ‘नेपालका मेडिकल क्षेत्रका विद्यार्थीहरूले मप्रति राखेको विश्वासका अगाडि कुनै पनि शक्ति टिक्न सक्ला जस्तो मलाई लाग्दैन। यो आन्दोलन चलाउँदै गर्दा गृह प्रशासनले प्रकाश चन्दलाई नै टार्गेटमा पार्नु आवश्यक छैन।’

उनले अगाडि भने,‘ मेरो विचारमा यो विषयमा त गृहमन्त्रीको छोरा, राष्ट्रपतिकै छोरी, पूर्व राष्ट्रपतिका नाति–नातिनाहरु, हाम्रै पुलिस प्रशासनका अधिकृतका छोराछोरीहरुले नेतृत्व गरिदिए अझै राम्रो हुने थियो । उहाँहरुलाई बढी सुरक्षा हुन्थ्यो होला, मेडिकल माफियाहरु अझ बढी तर्सिन्थे होला।’

केही मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिएको विषयलाई लिएर आन्दोलन गरिरहेका प्रकाश आफूलाई सरकारले गिरफ्तार गर्छ भन्ने विश्वास गरिरहेका छैैनन्। उल्टै उनी मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिका सन्तानहरूले अन्याय र अराजकताका विरूद्धमा बोल्नु पर्ने बताइरहेका छन्।

यता सरकारले आज मात्रै अतिरिक्त शुल्क फिर्ता गराउन विद्यार्थीको आन्दोलन झन् चर्किएपछि मेडिकल कलेजविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने कलेज सञ्चालकलाई जिल्ला प्रशासनमार्फत ठगी मुद्दा चलाउने भएको हो।

कलेजहरूले बढाइएको शुल्क कम भएको जिकिर गर्दै आगामी शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिने चेतावनी दिदै आएका छन्। शिक्षा मन्त्रालयले त्यस्ता कलेजको सम्बन्धन खारेजीसम्म गर्न सकिने जनाएको छ । अन्यायमा परेका र राज्यको नजरभन्दा बाहिर रहेका सम्पूर्ण जनसमुदायलाई महासचिव विप्लवले वैज्ञानिक समाजवाद र मुक्तिको लागि अन्तिम पटक एकीकृत जनक्रान्तिमा होमिन आग्रह गरेका छन्।

नेकपा (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत फागुन २८ गते नेकपामाथि राजनीतिक प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध अहिले पनि जारी छ। गत फागुनदेखि आजका दिनसम्म पार्टीका सयौं कार्यकर्ताले बन्दिगृहमा जीवन बिताइरहेका छन्। प्रहरी इन्काउण्टरको नाममा कतिले जीवन समाप्त पारिसकेका छन्। सरकार र नेकपाबीच वार्ताको हल्ला चल्छ। तर, कुनै निचोडमा नपुगेरै वार्ताको हल्ला बन्द हुन्छ।