कास्कीका सबै केन्द्रमा निर्वाध मतदान जारी



काठमाडौँ। कास्की क्षेत्र नम्बर २ मा निर्वाध मतदान भइरहेको छ। मतदान स्थगित भनेर समाचार आएपछि हामीले अनेरास्ववियूका नेता रश्मि आचार्यलाई सम्पर्क गरेर त्यहाँको वस्तुगत स्थितिका बारेमा जानकारी लिएका छौं। उनका अनुसार मतदान जारी छ। कुनै पनि मतदान केन्द्रको निर्वाचन स्थगित भएको छैन।

त्यस्तै कास्की प्रहरीका अनुसार पनि कास्की २ मा निर्वाध मतदान भइरहेको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ। नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयमा मतदान स्थलनजिकै बम विस्फोट भएपछि त्यहाँको मतदान स्थगित भएको समाचार आएका थिए। प्रहरीका अनुसार बम बिस्फोटपछि मतदान केही समयका लागि रोकिएको र पुनः सुचारू भएको हो। तर, मतदान नै स्थगित भएको भने होईन।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको हो। मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना भएन। बम खसालेको करिब २० मिनेटपछि त्यहाँ मतदान सुरू भएको प्रहरीका भनाइ छ।