काठमाडौँ। उपनिर्वाचन हुन लागेका ठाउँका विहान ७ बजेदेखि मतदान सुरु भएको छ। अधिकांश ठाँउमा विहानैदेखि मतदाता मतदान केन्द्रमा आइसकेको र निर्वाचनका लागि खटिएका सवै कर्मचारी तथा सुरक्षाकर्मीहरु पनि तयारी अवस्थामा रहेको निर्वाचन आयोगले जनाएको छ।
अधिकांश ठाँउमा विहान ७ बजे लगत्तै मतदान सुरु भएको र केही ठाँउमा केही ढिला गरी सुरु भएको आयोगको भनाई छ। आयोगले मतदान सुरु हुन नसकेको वा कुनै बाधा भएको विवरण अहिलेसम्म कतैबाट पनि नआएको जनाएको छ।
३७ जिल्लाका रिक्त ५२ पदका लागि आज उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र गरी ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी छन्।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले रिक्त ५२ पदका लागि ३ सय ३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जानकारी दिएका छन्।
उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ ११, प्रदेशसभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यको लागि २० वटा राजनीतिक दलले सहभागिता जनाउँदै छन्। प्रतिस्पर्धामा उत्रिएका कुल ३ सय ३७ जना उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेको निर्वाचन आयोगले जनाएको छ।
जसमध्ये २ सय ५३ पुरुष उम्मेदवार उपनिर्वाचनका लागि चुनावी मैदानमा छन् भने ८४ जना महिला उम्मेदवार छन्। प्रतिनिधिसभातर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी जम्मा २१, प्रदेशसभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी ४३ र स्थानीय तहका सदस्यतर्फ राजनीतिक दलका २ सय १३ र स्वतन्त्र ६० गरी जम्मा २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका हुन्।
उपनिर्वाचनका लागि ३७ जिल्लामा गरी २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको जानकारी दिए।