गायिका गिरीको लोक दोहोरी गीत ‘अमिलो अम्चुर’ सार्वजनिक



काठमाडौँ। लोक तथा दोहोरी गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरिएको छ। राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बीजीले शुक्रबार उक्त गीतको भिडियो बिमोचन गरे।

अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ। धुर्वराज धिताल, प्रेमा राना मगर र रुपी सिंजाली मगरले ग्रुप आवाजमा उनीहरुलाई साथ दिएका छन्। धुर्वराज धितालकै संगीत रहेको गीत कृष्ण बिकले संगीत संयोजन गरेका हुन्। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुनिल क्षत्रीको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन रहेको छ।

त्यस्तै म्युजिक भिडियोमा निर्देशक सुनिल छेत्री र नायिका ऋचा थापाको अभिनय छ। अमृत चापागाईंले सम्पादन गरेको भिडियो गायिका मिरा गिरीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत विमोचन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका अध्यक्ष बीजी, विशिष्ठ अतिथि चन्द्र शर्मा, संगीतकर्मी पृथ्वी थकाली, संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्की, प्रतिष्ठानकी केन्द्रीय सदस्य अमृता लुङ्गेली मगर, उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साललगायतको विभिन्न कलाकर्मीका साथै पत्रकारहरुको सहभागिता रहेको थियो।

गीत बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि बीजीले गीतले मौलिक परिवेश अंगालेको बताए। उनले भने, ‘म भर्खरै अध्यक्षमा निर्वाचित भएको छु, अझै आधिकारिक जिम्मेवारी सम्हालेको छैन, यहि १६ गतेबाट बल्ल सबै नव निर्वाचित केन्द्रीय समितिलाई कामको जिम्मेवारी सुम्पिने छ।’ उनले आफुलाई अध्यक्ष पदमा निर्वाचन गराउन महत्वपुर्ण भूमिका खेल्ने विभिन्न मिडियाका पत्रकारहरु र शुभचिन्तकहरुलाई धन्यवाद दिए। उनलाई गायिका मिरा गिरीले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन्।

त्यस्तै विशिष्ठ अतिथि चन्द्र शर्माले पनि उक्त गीतले मौलिकताको मर्म बुझेको बताए। गायिका गिरीले पनि गीतले मौलिकता नछाडेकाले दर्शक स्रोताको माया पाउने अपेक्षा गरेको विचार ब्यक्त गरिन्।

कार्यक्रममा आफ्नो गीतलाई विभिन्न मिडियाले साथ र सहयोग गरेको भन्दै पत्रकारहरुलाई प्रसंसापत्र प्रदान गर्नुका साथै उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरेकी थिइन्। कार्यक्रमको सञ्चालन कलाकार दिनेश काफ्ले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ रहेका थिए।