सागमा ४ खेलको प्रतियोगिता हेर्न टिकट काट्नुपर्ने, यस्तो छ प्रक्रिया



काठमाडौँ। १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ मा समावेश काठमाडौंमा आयोजना हुने ४ खेलका प्रतिस्पर्धा हेर्न दर्शकले टिकट लिनुपर्ने भएको छ।

दशरथ रंगशालामा हुने पुरुष फुटबल, त्रिपुरेश्वर राखेप कभर्डहलमा हुने भलिबल महिला र पुरुष र बास्केटबल तथा त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटका खेलहरुका लागि टिकट लिनुपर्ने छ।

राखेपले त्यसका लागि इसेवासँग सहकार्य गरेको छ। त्रिवि मैदानमा भने इसेवा र नेपालय इन्टरनेशनलबीच सहकार्य भएको छ। पुरुष फुटबलका समूह चरणका खेलमा साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क निर्धारण गरिएको छ। सेमिफाइनल र फाइनल खेलका लागि साधारणतर्फ १ हजार र भीआईपीतर्फ २ हजार शुल्क हुनेछ।

भलिबल र बास्केटबलका लागि ५ सय टिकट शुल्क निर्धारण गरिएको छ। त्रिवि क्रिकेट मैदानमा नेपालको खेल भएका दिन ५ सय र अन्य टिमको खेल भएका दिन २ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ।

१५ हजार ९ सय दर्शक क्षमता रहेको दशरथ रंगशालामा १४ हजार टिकट विक्री गरिने राखेप सदस्यसचिव सिलवालले जानकारी दिएका छन् । टिकट शुल्कबाट संकलित रकमको १५ प्रतिशत इसेवाले कमिसन पाउनेछ। कमिसनमध्ये आधा उसैले राख्नेछ भने आधा खेलकुदको पूर्वाधार विकासमा भएका कामका लागि अनुदान प्रदान गर्ने सहमति भएको छ।

भूकम्पले क्षति पुर्‍याएको दशरथ रंगशाला पुनर्निर्माणपछि पहिलोपल्ट ठूलो प्रतियोगिताको आयोजना गर्दैछ। यसपल्ट रंगशालामा पहिलोपल्ट कुर्सी जडान गरिएको छ भने कुर्चीमा नम्बर पनि उल्लेख गरिएको छ।

इसेवाका सीइओ रोशन लामिछानेका अनुसार टिकटमै कुर्सीको नम्बर उल्लेख गरिएको हुनेछ। उनले टिकटमा उल्लेख भएकै सिट नम्बरमा बसिदिन पनि सबैमा अनुरोध गरेका छन्।

रंगशालामा फुटबल हेर्न जाँदा टिकटसँगै फोटोसहितको परिचयपत्र पनि बोक्नुपर्नेछ। टिकटमा नाम उल्लेखित व्यक्तिले मात्र रंगशाला प्रवेश पाउने उनले बताए। ‘टिकटमा कालोबजारी र नक्कली दर्शकलाई निरुत्साहित गर्न हामीले त्यसो गरेका हौं,’ पत्रकार सम्मेलनमा उनले भने।