काठमाडौँ। १७औँ हस्तकला व्यापार मेला तथा १५औँ हस्तकला प्रतियोगिता काठमाडौँमा सुरू भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन वोर्ड, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा मेला शुरू गरिएको हो।
हस्तकला उद्यमीबाट उत्पादित सामानहरूलाई देश तथा विदेशमा प्रवर्द्धन गर्न, लघु तथा घरेलु नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागी गराउन, बिक्रेता र क्रेताबीच व्यवसायिक सम्बन्ध विकास गर्न र व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचार प्रसार गर्न मेलाको आयोजना गरिएको हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले बताए।
मेलामा भारत, श्रीलङ्का र बङ्गलादेशलगायत विभिन्न देशका २० वटा विदेशी स्टलहरू र बाँकी नेपाली स्टलहरू गरी दुईसय स्टल रहेका छन्। मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरू प्रदर्शनमा राखिएका छन्।
मेलामा स्वदेश तथा विदेशका गरी एक लाख अवलोकनकर्ताहरूलाई सहभागी गराई दश करोडको ब्यापार गर्ने लक्ष्य रहेको छ। बिहीवारदेखि शुरू भएको मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका छन्। मेला आगामी पाँच दिनसम्म चल्नेछ।
तस्बिर: मुकुन्द कालिकोट