कास्की २ मा नेकपा र कांग्रेसका केन्द्रीय नेताहरूको दोहोरी



काठमाडौँ। यहि मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनको सबैभन्दा चर्चाको विषय हो कास्की २। जहाँ तारन्तर नेकपा, कांग्रेस, साझा, समाजवादीलगायत पार्टीका केन्द्रीय नेताहरूले सम्बोध गरिरहेका छन्।

सम्बोधनका क्रममा एक अर्कालाई खसालेर बोलेको समेत सुन्न पाईयो। निर्वाचन आयोगको आचारसंहिताअनुसार आजबाट मौन अवधी सुरू भएको छ। आजदेखि राजनीतिक दलहरू प्रचार-प्रसार गर्न पाउने छैनन्।

आज मात्रै हेलिकोप्टरबाट पोखरा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कांग्रेस पार्टी र सभापति देउवालाई लिएर खुब आलोचना गरे। ‘प्रचण्ड’ले काँग्रेस नसच्चिए इतिहासको किंवदन्ती बन्ने दावी गरे। कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले उक्त ठोकुवा गरेका हुन्।

केही दिन अगाडि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री केपी ओलीकै सहमतिमा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा सार्वजनिक’ गरेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रचण्डले काँग्रेसप्रति टिठ लागेको बताए।

लोकतन्त्रका लागि सँगै लडेको दलको नेताले त्यसरी झुठो आरोप लगाएर र बोलेर दुनियाँलाई भ्रमित तुल्याएको बताए । ‘सभापति शेरबहादुरजीले प्रधानमन्त्रीको सहमतिमै भारतले नक्सा सार्वजनिक गर्यो भन्नुभयो । यो व्यवहार र अभिव्यक्ति हेर्दा र सुन्दा मलाई दया लागेको छ । काँग्रेस सारै तल खसेको देख्न मन छैन । तर खस्दैछ । शेरबहादुर देउवाको कुरा मलाई सुनेर टिठ लागेको छ,’ प्रचण्डको भनाई थियो।

त्यतिमात्रै होइन प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरे। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएका बेला गत भदौ १८ गते संसदमा बोलेका कांग्रेस सांसद थापाले विरामी भएका ‘बा प्रधानमन्त्रीलाई’ नेकपाले आराम गर्न दिनुपर्ने टिप्पणी गरेका थिए।

गगनले बोलेको तीन महिनापछि बुधबार पोखरामा प्रचण्डले, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई। जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ तरु’ भन्ने प्रश्न गरे, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन।’ कांग्रेसले कास्की २ मा ७५ वर्षे खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।

त्यस्तै यता काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा दिएको अभिव्यक्तिलाई लर कडा आलोचना गरेका छन्।

अध्यक्ष प्रचण्डले कास्की– २ बाट उपनिर्वाचनमा उम्मेद्वारी दिएका खेमराज पौडेलप्रति संकेत गर्दै बृद्धअवस्थामा सांसद बन्ने ? भन्दै अलोचना गरेका थिए। प्रवक्ता शर्माले प्रचण्डको राजनीतिक उचाई र उमेरले यो अभिव्यक्ति दिनु अशोभनिय भएको बताएका छन्।

पोखरामा प्रचण्डले दिएको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै शर्माले भनेका छन्, ‘७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज पौडेलले सांसद बन्नचाहि किन नमिल्ने?’